अब के गर्लान् प्रचण्ड–बाबुराम ?

काठमाण्डु टुडे २०७२ साउन ३१ गते १२:०९ मा प्रकाशित

govinda acharyaयतिखेर माओवादी आन्दोलनभन्दा बाहिरका अधिकांश राजनीतिक विष्लेषकहरुले सोध्ने प्रश्न हो– संविधान जारी भएपछि एमाओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराईले के गर्लान् ? उनीहरुमध्ये धेरैलाई लागेको छ– संविधान जारी हुनासाथ बाबुराम भट्टराईले पार्टी अध्यक्ष नपाए आफ्नो समूहलाई पार्टीबाट अलग बनाएर नयाँ शक्ति बनाउने छन् भने प्रचण्डले मोहन वैद्यसँग पार्टी एकता गर्नेछन् । चुनावसम्म जाँदा दुबै माओवादीको हैसियत अहिलेभन्दा धेरै साघुरो बन्नेछ ।

हो, हिजोको भीषण युद्धमा बिभाजित बन्न एवं विरोधीले हराउन नसकेका माओवादी अहिले आफ्नै कारणले गुट, उपगुट र स्वार्थ समूह हुँदै विभाजित बनिरहँदा, पार्टीभित्रका नेता–कार्यकर्ताले नै चरम असन्तुष्टि, निरासा र कुण्ठा व्यक्त गरिरहँदा एवं पार्टीको आन्तरिक संगठनात्मक गतिविधि ठप्पप्रायः भइरहँदा विरोधीहरुले सिंगो माओवादी आन्दोलन नै विघटनमा पुग्ने आँकलन गरिरहेका छन् । तर, अहिले ठूलो भूमरी र संकटमा फसिसकेको माओवादी आन्दोलनका अगाडि जे–जस्ता समस्या, चुनौती र विघटनका आधारहरु भए पनि प्रचण्ड र बाबुरामजस्ता नेताहरु एकतावद्ध भएर अघि बढ्दा ती सहजै परास्त हुने एवं कयौं अवसर र सम्भावनाका ढोका खुल्ने अवस्था छ । त्यसैले अहिले नै माओवादी आन्दोलनको विघटन वा अवसानको कल्पना गर्नु हतारको टिप्पणी हुन जान्छ ।

अहिले एमाओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुरामको सम्पूर्ण ध्यान संविधान निर्माणमै केन्द्रित भएको र दुवैले सम्पूर्ण शक्तिसमेत संविधान निर्माणमै लगाइरहेकाले कुनै अप्रिय अवस्था आइलागेन भने केही दिनभित्रै संविधान जारी हुने निश्चितजस्तै छ । संविधान जारी भएपछि यी दुई नेताले के गर्लान् भन्नेबारे चलिरहेका अनेकखाले टीकाटिप्पणीका बीच यहाँ सम्भाव्य तीन विकल्प प्रस्तुत गरिएको छ :

१. प्रचण्ड–बाबुराम एक हुन्छन्, अरुलाई पनि मिलाउछन्

प्रचण्ड–बाबुरामका अगाडि सबै विकल्पहरुमध्ये सबैभन्दा राम्रो विकल्प हो, दुवै नेता मिल्नु र विभिन्न धारामा विभक्त माओवादीहरुलाई एकतावद्ध पार्नु । यो माओवादी आन्दोलनका नेतादेखि कार्यकर्तासम्मको चाहना पनि हो । यसो गर्न धेरै कठिन त छ तर असम्भव चाँहि छैन । दुवै नेता एक भएर सबै माओवादी धाराका क्रान्तिकारीहरुलाई एकतावद्ध पार्न सक्ने हो र आफ्ना कमिकमजोरी सच्चाउँन तयार हुने हो भने फेरि पनि जनताको विश्वास जित्न र सबैभन्दा ठूलो पार्टी एमाओवादी बन्न सम्भव छ ।

प्रचण्ड र बाबुरामलाई नजिकबाट चिन्ने र लामो सहकार्य गर्नेहरुले अहिले यी दुई नेता सजिलै अलग हुन नसक्ने बताउँछन् । जनयुद्ध तथा शान्ति प्रक्रियाका सबैजसो निर्णय र प्रक्रियामा यी दुवै नेताको सहभागिता छ । पार्टीबाट भए गरेका राम्रा वा नराम्रा कामका लागि सबैभन्दा बढी जस र अपजसका पात्र यी दुवै नेता नै हुन् । यी दुई नेताको विगत तीन दशक यताको सहकार्यलाई हेर्ने हो भने पनि कयौं विवाद, बहस र उतारचढावका बीच पनि एक भएरै अघि बढेको देखिन्छ । जनयुद्धको सुरुवातअघि, जनयुद्ध सुरुवातपछि आधार इलाका निर्माण र नेतृत्व केन्द्रीकरण, विचार संष्लेषण र नयाँ कार्यदिशा निर्माण, एक्काइसौं शताब्दीमा जनवादको विकाससम्बन्धी अवधारणा निर्माण, बहुदलीय प्रतिस्पर्धासहितको लोकतान्त्रिक गणतन्त्र स्थापनाको बाटोमा अघि बढ्दा एवं शान्ति प्रक्रियाका अनेक मोडहरुमा सबैभन्दा बढी बहस यी दुईबीचमै भएका देखिन्छन् । बहसपछिका धेरैजसो निष्कर्षमा भने दुवैको एकरुपता देखिँदै आएको छ ।

कतिपय अवस्थामा त बाबुराम भट्टराईले राजीनामा दिने, लिखित रुपमै असहमति राख्ने र पार्टी सदस्यबाटै निलम्वन हुनेसम्मको कारबाहीमा पर्ने अवस्थासम्म व्यहोरेका छन् । बाबुराममाथि अनेक आरोपहरु लाग्दा वा उनी स्वयंले प्रचण्डमाथि गभ्मीर आरोपहरु लगाउँदा पनि बाबुरामले पार्टी छाड्ने आवश्यकता देखेनन् । यसरी हिजो पार्टीबाटै कारबाहीमा पर्दा त फुट्ने आवश्यकता नदेखेका बाबुराम अहिले कार्यदिशामा एकरुपता हुँदाहुँदै सजिलै फुटेर नयाँ शक्ति आर्जन गर्न लाग्लान् भन्ने अनुमान गर्न सकिँदैन । अहिले फुटेर शक्ति आर्जन हुँदैन र कही पनि पुग्न सकिँदैन भन्ने कुरा प्रचण्ड–बाबुरामले राम्रैसँग बुझेका छन् । पार्टी फुट्दा कुन अवस्थामा पुगियो भन्ने गहिरो अनुभूति यी दुई नेताभन्दा बढी कसलाई भएको होला र ? आफू वरिपरिका विश्वासपात्रहरुले फुटका लागि उक्साउने गरिरहे पनि प्रचण्ड र बाबुरामलाई सजिलै फुटिहाल्न त्यति सहज छैन ।

प्रचण्ड–बाबुरामलाई छाडेर अलग भएका अन्य माओवादी घटकले पनि पार्टी एक हुँदा र फुट्दा कति ठूलो घाटा व्यहोर्नु पर्दो रहेछ भन्ने अहिले राम्रैसँग अनुभूति गरिरहेका छन् । यसबीचमा पार्टी एकताका लागि प्रचण्ड, किरण, बाबुराम, बादल, महराहरुबीच कयौं चरणमा छलफल चलिसकेको छ र केही आधारभूत विषयमा टुंगोसमेत लागिसकेको छ । यस अवस्थामा प्रचण्ड र बाबुरामले मात्रै चाहने हो भने पनि अर्को पक्ष एकतामा आउन त्यति गा¥हो छैन । सबभन्दा पहिले आफूहरुको एकता मजवुत पार्ने, अन्य माओवादीलाई पनि एकतामा ल्याउने र नयाँ कार्यदिशा, नयाँ संगठन र नयाँ योजनाका साथ अघि बढ्नु नै अहिलेका लागि यी दुवै नेताको प्रमुख कार्यभार हो । यो विकल्प जति सुरक्षित र राम्रो उनीहरुका लागि अर्को विकल्प हुन सक्दैन ।

२. प्रचण्ड–बाबुराम अलग हुन्छन्, नयाँ ध्रुवीकरण हुन्छ

प्रचण्ड र बाबुरामका लागि यो दोस्रो विकल्प हो । जतिसुकै अप्रिय भए पनि बाबुरामलाई अब पार्टीभित्रैको मात्र शक्ति (जुन शक्तिमा आफू हावी हुन सकिँदैन) ले केही पनि हुँदैन, बाहिरको शक्तिलाई समेत आकर्षित गरेर जान नयाँ विचार र नयाँ शक्ति चाहिन्छ भन्ने अनुभूति भएकै छ । बाबुराम वरिपरिका विश्वासपात्रले पनि यसका लागि उनलाई उचाल्दै÷उकास्दै आइरहेकै छन् । पार्टीमा लामो समयसम्म इमान्दारपूर्वक नेतृत्व गर्दै आए पनि आफूहरुलाई विश्वास नगरिएको तथा सधैं प्रतिपक्षी व्यवहार हुँदै आएको भन्दै बाबुराम निकटकाले दर्जन बढी जिल्लामा समानान्तर कमिटी नै गठन गरेका छन् । विचार समूहका नाममा बाबुराम पक्षको छुट्टै बैठक, छलफल तथा अन्तक्र्रिया हुने क्रम जारी छ ।

उता प्रचण्ड निकट भनिनेहरुमा पनि सधैं बाबुराम पक्षसँग विवाद गर्नुभन्दा फुटेर जान्छन् भने जान दिने हो कि भन्ने सोचाइ विकास हुँदै गएको देखिन्छ । सधैं पार्टीमा झगडा गरेर संगठन अस्त्यव्यस्त पारिराख्नुभन्दा बाबुरामका लागि सहजै निकास दिएर चुस्तदुरुस्त संगठन बनाउने एवं मोहन वैद्यहरुसँग एकता गर्नुपर्छ भन्दै प्रचण्डलाई दबाब बढाउनेहरु पनि छन् । यस अवस्थामा विवाद बढ्दै गएर भोलि एकले अर्काको अस्तित्व नै स्वीकार गर्न नसक्ने र अन्ततः फुटमै पुग्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्थामा बाबुराम भट्टराईले प्रचण्डबाट आफ्नो शक्तिलाई अलग बनाएर माओवादी आन्दोलनभन्दा बाहिरका व्यक्ति तथा समूहलाई समेत समेटी नयाँ पार्टी निर्माण गर्न सक्छन् । प्रचण्डले पनि बाबुराम पक्षभन्दा बाहेकको शक्ति लिएर मोहन वैद्य र मातृका समूहहरुसँग एकता गर्न सक्छन् । विप्लव समूह भने अहिले आफू बलियो बन्न प्रचण्ड र बाबुरामलाई फुटका लागि उकास्न लागि परे पनि तत्कालै एकता प्रक्रियामा सहभागी हुने देखिँदैन् ।

केही गरी माओवादी समूहबीच एकता सम्भव बनेन भने प्रचण्डले एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियानको नेतृत्व गरेर एमालेसम्मका वाम शक्तिबीचको एकताका लागि पहल गर्नसक्ने सम्भावनालाई पनि अहिले अस्वीकार गर्न सकिँदैन । प्रचण्ड भनेका धेरैपछिसम्म देख्न सक्ने, रिक्स मोल्न सक्ने र बस्तुवादी योजना बनाउन सक्ने नेता हुन् । उनमा जे–जस्तो खुवी र नेतृत्व क्षमता छ, त्यो समकालीन अरु नेतामा छैन । उनले विगतमा २०४७ सालमा आफूले अघि सारेका लाइनमा अल्पमतमा परिन्छ भन्ने थाहा पाउँदापाउँदै पनि पार्टी एकता गरे, तत्कालिन चुनाव वहिष्कार गर्नुपर्छ भन्ने आफ्नै लाइनविरुद्ध गएर चुनाव उपयोग गर्ने कार्यनीति कार्यान्वयनमा ल्याए, फेरि पार्टी फुटाएर भए पनि जनयुद्धको प्रक्रियामा अघि बढ्ने जोखिम उठाए, ठूलो रिक्स मोलेर शान्ति प्रक्रिया, संविधानसभा चुनाव हुँदै गणतन्त्रसम्म ल्याइपु¥याए ।

अहिले पनि प्रचण्डको दिमागले धेरै पछिसम्मका लागि सोचिरहेको हुनसक्छ । अरु साना–साना कुरा उछालेर कुखुराले झैं फोहर जमिन खोस्रीरहँदा प्रचण्डको दिमागले धेरैपरसम्म देख्ने गरी उडान भरिरहेको हुनसक्छ । यस अवस्थामा उनले रिक्स मोलेरै भए पनि समाजवादी क्रान्तिको आधार तयार पार्न वामपन्थी शक्तिलाई एकतावद्ध वनाउने अभियानको नेतृत्व गर्न सक्छन् । त्यसो भयो भने देशको राजनीतिमा केही वर्षसम्म यही शक्ति हावी हुने अवस्था रहन्छ ।

३. टुक्रा–टुक्रा बन्ने, आफै सकिने

माओवादी नेता प्रचण्ड र बाबुरामका लागि अर्को तेस्रो विकल्प पनि छ । केही गरी माथिका दुवै विकल्पमा यी नेताहरु असफल भए भने बाँकी रहेको विकल्प हो– अझै कयौं टुक्रामा विभाजित हुनु र नेपालको माओवादी आन्दोलनलाई नै विघटनमा पु¥याउनु । संविधान बनेपछि पनि अहिलेको जस्तै अस्तव्यस्तता कायम राखियो र नेताहरुले ठीक कदम चाल्न सकेनन् भने एमाओवादी पार्टी फेरि कयौं टुक्रामा विभाजित हुनेछ । स्वयं आफूलाई प्रचण्ड र बाबुराम निकट बताउनेहरुका समेत आआफ्ना समूह, उपसमूह र अलग–अलग चोक्टा बन्नेछन् । त्यस अवस्थामा नारायणकाजी पक्षका पनि विभिन्न समूहमा विभाजित बन्नेछन् । यसरी हेर्दा हेर्दै नेपालको माओवादी आन्दोलन दर्जनौं समूहमा विभाजन हुनेछ । यहीभित्रैबाट कतिपय क्षेत्रीय र जातीय समूह निस्कर्नेछन् । फेरि उठ्नै नसक्ने गरी वर्गीय आन्दोलनले ठूलो धक्का खान पुग्नेछ । यो बाटो भनेको माओवादी आफै सिद्धिने बाटो हो ।

आशा गरौ, प्रचण्ड र बाबुरामले आफैले नेतृत्व गरेर यहाँसम्म ल्याएको माओवादी आन्दोलनलाई जानीजानी सिद्धिने बाटोमा लगेर हाल्ने छैनन् । उनीहरु समय छँदै गम्भीर बन्नेछन्, आफ्ना व्यक्तिगत तथा गुटगत स्वार्थ र गुनासालाई तिलान्जली दिनेछन् र अत्यन्तै संकट र भूमरीेमा पुगेको माओवादी आन्दोलनलाई सही दिशा र नेतृत्व दिएर गन्तव्यसम्मै पु¥याउने सफलता प्राप्त गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us