अधिकारको आन्दोलनलाई साम्प्रदायिक बनाउने षडयन्त्रः यादव

काठमाण्डु टुडे २०७२ साउन ३० गते १६:२२ मा प्रकाशित

upendra yadav
काठमाण्डु, ३० साउन – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न ठाँउमा अधिकारको लागि भइरहेका आन्दोलनलाई साम्प्रदायिक बनाएर दमन गर्ने षडयन्त्र भईरहेको दावी गरेका छन् ।

रिपोर्टर्स क्लबले शनिवार गरेको साक्षात्कारमा अध्यक्ष यादवले संविधानको प्रारम्भिक मस्यौदालाई लिएर उठेको जनताको असन्तुष्टिभित्र षडयन्त्र भईरहेको भन्दै कैलालीको टिकापुरमा भएको आमसभाको विषयमा गरिएको प्रचारप्रति दुख व्यक्त गरे ।

‘यो असमानता, अधिकार बिहीन बनाउने, पहिचान र समावेशीता नदिने कार्य विरुद्धको लडाई हो ।’ अध्यक्ष यादवले भने, ‘कुनै समूदायको विरुद्धको लडाई होईन । अधिकारको कुरालाई साम्प्रदायिक बनाउने षडयन्त्रप्रति म दुख व्यक्त गर्दछु ।’

यादवले सैद्धान्तिक आधारबिना पहिचान र सामथ्र्यलाई उल्टाएर ६ प्रदेश बनाइएको आरोप लगाउँदै यादवले पर्सादेखि सप्तरीसम्मको प्रदेश सामथ्र्य बिनाको प्रदेश बनाइएको दावी गरे ।

उनले संविधानबाट संविधान बन्नु पर्नेमा बालुवाटारमा चार दलका केही नेताले आफू अनुकुल हुनेगरी १६ बुँदे सम्झौता गरेर संविधान बनाउन लागेको आरोप लगाए ।

यादवले बिगतमा भएका सहमति, अन्तरिम संविधान अनुसार संविधान नबनाए मुलुकमा ठूलो विपत्ति ल्याउने चेतावनी दिए ।

‘दलको हैकमको आडमा संविधानसभामा छलफल नै नगरी प्रतिवेदन संविधानसभामा बुझाईयो । यसले प्राप्त उपलब्धि उल्टाउने काम गरेको छ ।’ यादवले भने, ‘समानुपातिक समावेशी, नागरिकता, राज्यपुर्नसंरचना समितिको प्रतिवेदन उल्टाउने काम भएको छ ।

संविधानसभाले स्वामित्व ग्रहण गरेको र सहमति गरेको र अन्तरिम संविधानले स्विकारेको विषयलाई आधार मानेर संविधान बनाए आफुहरुलाई मान्य नहुने उनले स्पष्ट पारे ।

संविधान निर्माणमा सतप्रतिसतको चित्त बुझ्न नसक्ने भएपनि अहिलेको मस्यौदामा चार दलभित्रै असहमति रहेकोले जनताको चित्त बुझाउन नसक्ने भन्दै कसैको सनकले मुलुकलाई अशान्त पार्ने चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us