लोक सेवा आयोगको पाठ्यक्रम परिमार्जन

काठमाण्डु टुडे २०७२ साउन २९ गते १९:३३ मा प्रकाशित

loksewa
काठमाण्डु, २९ साउन-लोक सेवा आयोगबाट एकीकृत र संयुक्त परीक्षा प्रणालीअन्तर्गत परीक्षा सञ्चालन हुने राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह, राजपत्र अनङ्कित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह र राजपत्र अनङ्कित द्वितीय श्रेणी खरिदार वा सो सरह (अप्राविधिक) पदहरुको विद्यमान पाठ्यक्रम र लिखित परीक्षा योजनामा सामान्य परिमार्जन भएको छ ।

 

संशोधित पाठ्यक्रम र लिखित परीक्षा योजनाअनुसार राजपत्र अनङ्कित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह (अप्राविधिक) र राजपत्र अनङ्कित द्वितीय श्रेणी, खरिदार वा सो सरह (अप्राविधिक) पदहरुमा पनि प्रथम चरणको परीक्षा लिने र सो परीक्षाको नतिजामा सफल हुने उमेद्वारहरु मात्र दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

संशोधित पाठ्यक्रम र लिखित परीक्षा योजनाअनुसार शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदका लागि प्रथम चरणको परीक्षामा पूर्णाङ्क २०० र उत्तीर्णाङ्क ५० प्रतिशत रहेकामा अब तीनवटै प्रथम चरणको परीक्षाको पूर्णाङ्क १०० र उत्तीर्णाङ्क ४० प्रतिशत कायम गरिएको छ ।

 

उक्त सबै पदको प्रथम चरणको परीक्षाको उत्तीर्णाङ्क ४० प्रतिशत कायम गरिएको हो । उक्त पदमा प्रथम चरणको परीक्षामा उम्मेद्वारले प्राप्त गरेको शतप्रतिशत अङ्क दोस्रो चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा जोडिने व्यवस्थासमेत गरिएको छ ।

 

नासु वा सो सरह र खरिदार वा सो सरहका अप्राविधिक पदका लागि हाल कायम रहेका प्रथम पत्र (सामान्य ज्ञान र सामान्य वौद्धिक परीक्षण) नै प्रथम चरणको परीक्षाको विषय कायम भएको छ । परीक्षामा सोधिने प्रश्न विद्यमान पाठ्यक्रमको लिखित परीक्षा योजनामा उल्लेख भएअनुसार नै हुनेछन् ।

 

आयोगबाट रापत्राङ्कित प्रथम श्रेणी, नासु वा सो सरह पदका लागि तृतीय पत्र ऐच्छिक विषयअन्तर्गत नौ विषय रहेकामा पुनरावलोकन गरी छ विषय कायम गरिएको छ । रसायनशास्त्र, भौतिकशास्त्र र जीवविज्ञानलाई एकीकृत गरी विज्ञान विषय कायम गरिएको छ भने व्यवस्थापन र लेखाशास्त्रलाई एकीकृत गरी व्यवस्थापन र लेखा एउटा विषय कायम गरी अन्य विषयहरु यथावत् गरिएको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us