लगातारको बन्दका कारण उपभोग्य सामग्रीको अभाव

काठमाण्डु टुडे २०७२ साउन २९ गते १६:३५ मा प्रकाशित

khadyanna
धनगढी, २९ साउन-लगातारको बन्दपछि कैलालीको टीकापुर क्षेत्रमा तरकारीको अभावसँगै यसको मूल्य पनि वृद्धि भएको छ ।

 

प्रादेशिक सीमाङ्कनको विरोधमा विगत एक हप्तादेखि थरुहटरथारुवान पक्षधरले गरेको बन्दका कारण टीकापुर नगर क्षेत्रमा दैनिक उपभोगमा आउने तरकारीको अभाव भएको छ ।

मूल्य वृद्धि भएर एक हप्ता अघिसम्म प्रतिकिलो ६० मा पाइने प्याज १००, गोलभेडा ६० बाट ८०, काउली ५० बाट ८० पुगेको स्थानीय जय नेपाल कटेजकी विनादेवी विष्टले बताए ।

 

लगातारको बन्दबाट सास्ती खेपिरहेका स्थानीय उपभोक्ता मूल्य वृद्धिपछि महँगीको मारमा परेका छन् । स्थानीय क्षेत्रमा उत्पादित भिन्डी, लौका र बोडीको पनि बजारमा सहज र पर्याप्त रुपमा आपूर्ति हुन नसक्दा यी वस्तुको मूल्यमा वृद्धि भएको छ ।

 

भिन्डी र लौकाको मूल्य प्रतिकिलो ३० बाट ६० र बोडी प्रतिकिलो ६० बाट ८० पुगेको छ । बन्दबाट चामल, दाल, पिठोलगायतका दैनिक उपभोग्य वस्तुको समेत बजारमा सहज आपूर्ति हुन नसक्दा अभाव सिर्जना भएको बताइएको छ ।

 

थरुहटरथारुवान पक्षधरले सुदूरपश्चिमको तराईका जिल्ला कैलाली र कञ्चनपुरलाई थारुहटरथारुवान प्रदेशमा गाभ्नुपर्ने माग गर्दै आज पनि बन्द र प्रदर्शन जारी राख्दा जनजीवन प्रभावित भएको छ ।

 

बन्दको असर जिल्लाको पश्चिमी क्षेत्रमा भन्दा पूर्वी क्षेत्रमा बढी परेको छ । धनगढी, अत्तरियालगायतका बजार क्षेत्र आज खुलेका भए पनि टीकापुर लम्कीलगायतका बजार बन्द रहेका छन् ।

 

यस्तै धनगढीबाट पहाडी क्षेत्रमा जाने लामो तथा छोटो दूरीका यातायातका साधन चले पनि धनगढीबाट पूर्वी रुटमा चल्ने साधन बन्द रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us