अनिश्चितकालीन तराई बन्दले जनजीवन प्रभावित

काठमाण्डु टुडे २०७२ साउन २९ गते १०:१९ मा प्रकाशित

Butwal1रुपन्देही, २९ साउन–तराईको भूभागलाई थरुहट प्रदेशको माग गर्दै थरुहट संघर्ष समितिले आह्वान गरेको अनिश्चितकालीन तराई बन्दका कारण रुपन्देहीको जनजीवन प्रभावित भएका छन् ।

संविधानको प्रारम्भिक मस्यौदामा संघीय प्रदेशको नामांकन नगरी संघीयतालाई ओझेलमा पारिएको, नेपाललाई ६ प्रदेशमा सीमांकन गर्दा तराईलाई हिमाल पहाडसँग जोडिएको विरोधमा आह्वान गरिएको बन्दका कारण रुपन्देहीका सम्पूर्ण बजार पसल, यातायात, शैक्षिक संस्था, उद्योग कलकारखाना पूर्ण रुपमा ठप्प रहेका छन् । आन्दोलनका कारण दैनिक मजदुरी गरेर खानु पर्ने सबैभन्दा बढी प्रभावित भएका छन् ।

प्रहरी, एम्बुलेन्स, प्रेस, दूधलगायत अत्यावश्यक बाहेकका गाडीहरु बिहानदेखि सडकमा गुड्न सकेका छैनन् । बन्दका कारण छिमेकी मुलुक भारतमा रोजगारी गरी फर्किएका नेपालीलाई गन्तव्यसम्म पुग्न निकै समस्या परेको छ ।

बन्दकर्ता बिहानदेखि भैरहवाको बुद्धचोक, देवकोटा चोक, मिलनचोक, अञ्चलपुरलगायतका स्थानमा जम्मा भएर अवरोध गरिरहेका छन् । अहिलेसम्म कुनै पनि स्थानमा अप्रिय घटना भने नघटेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us