स्वायत्त प्रदेशको विषयमा एकै ठाउँमा उभिएर बोले कर्णालीका सभासद

काठमाण्डु टुडे २०७२ साउन २७ गते १६:२७ मा प्रकाशित

karnali savasad
काठमाण्डु, २७ साउन– कर्णाली अञ्चलबाट प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सभासदहरुले कर्णाली स्वायत्त प्रदेश नबनेसम्म आफूहरुको आन्दोलनलाई जारी राख्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा सभासद प्रेमबहादुर सिंहले कर्णाली खस आर्य र नेपाली भाषाको जन्मभूमि भएकोले त्यसको संरक्षणको लागि त्यसका पाँच जिल्लालाई अलग्गै प्रदेश, मध्यपश्चिममा राखेर विशेष अधिकार सहितको स्वायत्त क्षेत्र वा केन्द्रबाट शासित हुने प्रदेश बनाउनु पर्ने बताए ।

सभासद महेन्द्र बहादुर शाहीले अहिलेको सीमांकनले कर्णालीलाई समृद्ध नपार्ने दावी गर्दै क्षतिपूर्तिसहितको कर्णाली प्रदेश निर्माण गरेर कर्णालीलाई आफूहरुले देशकै सबैभन्दा समृद्ध राज्य बनाउने ठोकुवा गरे ।

सभासद जीवन बहादुर शाहीले आफूहरुको पहिलो चाहना कर्णाली स्वायत्त प्रदेश भएको उल्लेख गर्दै त्यो नभए विशेष बजेटसहितको विशेष कर्णाली क्षेत्र हुनु पर्ने बताए ।

उनले संघीयता विथोल्ने खेल भईरहेकोले आन्दोलन गर्दा त्यता तर्फ समेत ध्यान दिनु पर्नेमा जोड दिए ।

सभासद ललितजंग शाहीले सामथ्र्य र पहिचानको हिसावमा कर्णाली अलग्गै प्रदेश बन्न सक्षम रहेको उल्लेख गर्दै कर्णालीलाई सुदुरपश्चिममा राख्ने कुरा कुनै पनि हालतमा स्विकार्य नहुने बताए । यद्यपि उनले अरु कुन क्षेत्रमा पार्ने भन्ने विषयमा छलफल गर्न सकिने धारणा राखे ।

सभासद मोहन बानीयाँले कर्णालीलाई विकासको मुल प्रभावमा जान केन्द्रले नै रोकेकाले विशेष अधिकार सहितको स्वायत्त प्रदेश हुनु पर्नेमा जोड दिदै सकिदैन भने मध्यपश्चिममा राखेर विशेष अधिकार दिनु पर्ने प्रस्ताव राखे ।

सभासद गोमा कुवरले कर्णाली सुदुरपश्चिमबाट शासित हुन नचाहेकोले अलग्गै प्रदेश हुनु पर्नेमा जोड दिदै कर्णाली आफ्नो अधिकारकोलागि जस्तो सुकै कुर्वानी गर्न पनि तयार रहेको चेतावनी दिईन ।

सभासद तुलराज विष्टले खस आर्यहरुको उद्गम स्थल कर्णाली भाषा र सस्कृतिको हिसावमा समृद्ध राष्ट्र भएको उल्लेख गर्दै संबैधानिक ब्यवस्थासहितको छुट्टै राज्य हुनु पर्ने माग गरे ।
संबैधानिक ब्यवस्था नभएसम्म लड्नु पर्ने आवश्यकता औल्याउँदै कर्णाली अलग्गै प्रदेश नहुने हो भने विशेष अधिकारसहितको मध्यपश्चिमा राख्न सकिने तर्क गरे ।

सभासद बलबहादुर महतले कर्णालीलाई आधार बनाएर राज्यको पुर्नसंरचना हुनु पर्नेमा जोड दिदै कर्णालीलाई विशेष क्षेत्रको रुपमा संबैधानिक ब्यवस्था गर्नु पर्ने बताए ।

उनले भने–राजनीतिक, आर्थिक अधिकारसहितको प्रदेश चाहियो । तर अधिकारको नाममा भई रहेको आन्दोलनमा आफ्ना आफै घर जलाउने काम भईरहेकोले त्यसतर्फ भने सचेत हुनु पर्छ ।

सभासद गिता शाहीले कर्णालीलाई सुदुरपश्चिमबाट निकालेर विशेष स्वायत्त प्रदेश हुनु पर्ने भन्दै कर्णाली नटुक्राई भेरी कर्णालीसहितको प्रदेश भए पनि स्विकानु पर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us