एकै व्यक्तिले दश जिल्लामा पत्रिका निकालेर राज्य लुट्ने को हुन् ?

काठमाण्डु टुडे २०७२ साउन २६ गते १७:०५ मा प्रकाशित

Journalist

काठमाण्डु, २६ साउन -एउटै व्यक्तिले राजधानीमा बसी राजधानी बाहिरका विभिन्न १० जिल्लाबाट पत्रिका प्रकाशन गरेको खुलासा भएको छ ।

 

नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले एक व्यक्ति अनेक पत्रिका प्रकाशन गर्ने ठूलो गिरोह सक्रिय भई राज्यको सम्पत्ति दोहन भएको प्रमाणित भएकाले छिट्टै कारबाहीको दायरामा ल्याउने जानकारी दिए ।

 

पत्रिका प्रकाशन गर्ने व्यक्ति वा सम्पादकबाट हुबहु पत्रकारिता गरिएकाले त्यस प्रकारका सञ्चार गृहलाई राज्यको सुविधा पाउनबाट वञ्चित गरिने उनले बताए । उनले पत्रिकाको नाम भने बताउन चाहेनन् । यद्यपि कारबाही भएपछि स्वतः प्रमाणित हुने बताए ।

 

केही पत्रिका र विद्युतीय सञ्चारमाध्यमले रचनात्मक तथा सिर्जनात्मक पत्रकारिता गर्न छोडी हुबहु पत्रकारितालाई प्रश्रय दिएका छन्, उनीहरुलाई कारबाहीको दायरामा ल्याएपछि मात्र व्यावसायिक पत्रकारिता अगाडि बढ्ने नेपाल क्रान्तिकारी पत्रकार सङ्घका गोविन्द आचार्यले बताए ।

 

काउन्सिल पत्रपत्रिका तथा विद्युतीय सञ्चारमाध्यमको अनुगमन र नियमन गर्ने निकाय हो ।

 

काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकार वर्गमा खोजी समाचार गर्ने बानी हराउँदै गएको, आर्थिक, सामाजिक र चाखलाग्दा समाचार सङ्कलन गर्ने अभिरुचिको सट्टा अन्य पत्रपत्रिका, अनलाइन र राष्ट्रिय समाचार समितिका समाचार हुबहु प्रकाशन तथा प्रसारण गर्ने बानी बस्दै गएको खुलासा गरेका छन् ।

 

पत्रपत्रिका प्रकाशन गरेबापत राज्यले वर्गीकरणका आधारमा पत्रपत्रिकालाई लोककल्याणकारी सुविधाबापत मासिक रकम उपलब्ध गराउँदै आएको छ । ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका दैनिक, साप्ताहिक अर्धसाप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक र त्रैमासिक, साहित्यक पत्रिकालाई क्रमशः करिब ३० हजार, २४ हजार, १९ हजार र १३ हजार उपलब्ध गराउँदै आएको प्रेस काउन्सिल नेपालका सदस्य सुदर्शन आचार्यले बताए ।

 

यसवर्ष काउन्सिलले ८२२ पत्रपत्रिकालाई वर्गीकरणमा सिफारिस गरेको छ । वर्गीकरणमा सिफारिस भएका उक्त पत्रिकाले राज्यसँग करिब २२ करोड नगद बुझेको सूचना विभागले जनाएको छ ।

 

काउन्सिलले पत्रकार आबद्ध विभिन्न सङ्घसंस्थासँग समाचारमा गुणस्तरीयता कायम राख्न पटक पटक छलफल चलाएको छ । अन्ततः वर्गीकरणका समयमा पत्रकार आबद्ध संस्थाका अगुवाले उच्चकोटीको वर्गमा सिफारिस गर्न दबाब दिने गरेको काउन्सिलले बताएको छ ।

 

यसअघि, नेपाल प्रेस काउन्सिलले नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष तथा प्रतिनिधिसँग गुणस्तरीय समाचार लेखनमा सहयोग गर्न छलफल तथा परामर्श गरेको थियो ।

 

समाचारमा गुणस्तरीयता कायम गर्न नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार सङ्घबीच साझा धारणा बन्नुपर्ने नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us