गोरखाको दरौँदी नदी थुनिने त्रास

काठमाण्डु टुडे २०७२ साउन २६ गते १३:४८ मा प्रकाशित

river
गोरखाबजार, २६ साउन-गएराति झरेको पहिरोका कारण गोरखाको सिम्जुङ–९ स्थित बालुवा बजार उच्च जोखिममा परेको छ ।

 

बालुवाबजारको पारिपट्टि सौरपानीको डाँडाबाट झरेको पहिरोले दरौँदी नदीको एउटा भङ्गालो थुनिएपछि बालुवाबजारवासी त्रासमा छन् । भीषण वर्षासँगै गएराति १ बजेतिर पहिरो झरेको थियो । पहिरोले दरौँदी नदीको सौरपानी गाविसतर्फको सानो भङ्गालो थुनिएको स्थानीयवासीले जनाएका छन् ।

 

स्थानीयवासी चन्द्र घलेका अनुसार दरौँदीको भङ्गालो थुनिएपछि बस्तीमा पानी पस्ने र पहिरो जाने डरले गाउँले त्रासमा छन् । उनले भने, ‘ठूलो आवाजसाथ पहिरो झरेको थियो । दरौंदीको एउटा भङ्गालो थुनिएछ । पहिरो नाघेर बिहानदेखि पानी बग्यो ।’ पानी पर्न रोकिएको छ तर, पहिरो झरिरहेको छ । बालुवाबजारको पारिपट्टि बारपाक सडकखण्डमा पहिरो झरेको हो ।

 

भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँ नजिकै बालुवाबजार पर्छ । भूकम्प गएपछि सोही ठाउँमा ठूलो पहिरो झरेको थियो । पहिरोभित्र पुरिएका दुईजनाको शव १७ दिनपछि सेनाको टोलीले बाहिर निकालेको थियो । सिम्जुङ–सौरपानी जोड्ने दरौँदी नदीमाथि निर्माण भएको पुल नजिकै पहिरो झरेको घलेले बताए ।

 

‘दरौँदीको भेल बस्तीमा पस्ने डरले सुरक्षित ठाउँमा बस्यौँ, रातभर अनिदो बितायौँ’, ‘अस्थायी प्रहरी चौकी बालुवाका प्रहरीले स्थानीयवासीलाई सुरक्षित ठाउँमा लगे । ‘बिहान उज्यालो भएपछि मानिसहरु आ–आफ्ना घर गएको उनको भनाइ छ । भूकम्पले पहिरो नजिकैको झोलुङ्गे बस्ती विस्थापित भएर बालुवाबजारमा बसेका छन् । बालुवामा १५० भन्दा बढी टहरा छन् ।

 

पहिरोको जोखिम रहेको बालुवाबजार क्षेत्रमा प्रहरी टोली परिचालन गरी स्थानीय जनतालाई सुरक्षित ठाउँमा राखिएको प्रहरी निरीक्षक रेशमलाल रेग्मीले बताए । ‘बालुवाबजारको अवस्था सामान्यतर्फ उन्मुख छ,’ रेग्मीले भने, ‘दरौँदीमा पानीको सतह घट्दै गएको छ । आकाशबाट पानी पर्न रोकिएसँगै पहिरो झर्न रोकियो ।’ अहिले खतरामुक्त रहेको भन्दै नयाँ सडक ट्र्याक खोलिएपछि पहिरोको झरेको रेग्मीले बताए । गोरखाबजारबाट ४० किलोमिटर टाढा बालुवाबजार पर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us