आफ्नै देश मास्ने, आफ्नै जनता मार्ने कस्तो आन्दोलन ?

काठमाण्डु टुडे २०७२ साउन २६ गते १३:४७ मा प्रकाशित

केही दिन पहिलेमात्र सुनसरीका ११ गाविसमा भारतले हजारौँ बिघा जमिन अतिक्रमण गरी वस्ती बसायोे । यसरी दशगजा क्षेत्र र नेपालतर्फको भूमि अतिक्रमण गरी वस्ती बसाउँदासमेत नेपाल प्रहरी बेखबर छ । यसरी भारतले आफूसँग सीमा जोडिएको क्षेत्रको लगभग ७१ स्थानमा सीमा विवाद छ र त्यो सबै भारतले सीमा अतिक्रमण गरेपछि उत्पन्न भएको विवाद हो । मुख्यगरी कालापानी, सुस्ता, कञ्चनपुरको विभिन्न स्थान, पशुपतिनगर, लिपुलेक लगाएतका क्षेत्रको विवाद वर्षौ पहिलेदेखि छ । जुन समाधानका लागि नेपाल सरकारले देखावटी बाहेक कुनै ठोस पहल गरेको छैन । यसरी भारतसँग सीमा जोडिएका अन्य तराईका जिल्लाहरुमा भारतले सीमा कति अतिक्रमण गर्यो कति । त्यो सबैलाई थाहा छ । तर, सबै चुप छन् । यसरी दिनानुदिन नेपालको भूमि भारतले आफ्नो कब्जामा पार्दै जाँदा नत सीमा अतिक्रमणका सम्बन्धमा जनताले नै चर्को आवाज निकालेका छन् नत प्रहरी प्रशासन र राजनीतिक दलहरुले नै ।

krishna acharya

हुन त मैले जनताले मागेको हक अधिकारको बिरोध गर्न खोजेको होइन । नत उनीहरुले अखण्डको नाममा उठाएको नाराको नै । तर, मलाई चित्त नबुझेको कुरा के भने । यसरी आन्दोलन गरेर जनताले आफ्नै क्षेत्रको, देशका भौतिक संरचनामा क्षति पुर्याउँदै तोडफोड गर्ने र प्रहरीले जनता मार्ने काम गर्ने हो भने त्यसको फाइदा कसलाई हुन्छ ? एक त भूकम्पका कारण ध्वस्त संरचनाको निर्माण हुन सकेको छैन त्यसमाथि अझ ध्वस्त नभएका क्षेत्रमा जनता आफै ध्वस्त पार्न लागिपर्ने हो भने देशको स्थिति के होला ? आफ्ना मागहरु राख्नु गलत कुरा होइन तर हधिकारको नाममा उग्र बन्ने, आगजनी गर्ने, भौतिक संरचना तोडफोड गर्ने, ढुंगामुढा गर्ने अनि मान्छे मार्ने जस्ता कार्य कत्तिको उत्तम होला ? हामी सबैले एकपटक सोच्नैपर्छ ।

 

यो हाम्रो कस्तो बल हो । अधिकारका नाममा आफ्नै संरचाम ध्वस्त पार्ने, आफ्नै दाजुभाई मार्ने ! साच्चि हामी निकै स्वार्थी भइसकेका छौँ । यदी हामीलाई साच्चि देशकै चिन्ता छ भने भारतले मिचेका भूभाग फर्काउन आन्दोलन गरौँ । बल नै देखाउनु छ भने जाऊ ति क्षेत्रमा उनी फिर्ता लिऔँ हाम्रो मिचिएको भूभाग । प्रहरीलाई बलको त्यति घमण्ड छ भने जनतासँग जाओस् अनि नेपालको पहिचान, राष्ट्रियता, अखण्डता बचाउन त्यहाँ चलाओस् गोली । तर, यसो हुँदैन यहाँ त नेपालको भूभाग नेपालकै अर्को क्षेत्रमा मिसाउँदा नारबाजी गरिन्छ, आगो दन्काइन्छ, तोडफोड गरिन्छ । अनि प्रहरीले गोली चलाउँछ, जनता मार्छ । राजनीतिक दलका नेता भाषण पिट्दै ‘हामी जनताका अधिकारका पक्षमा संवेदलसील छौँ । तपाईहरु नआत्तिनुस् हामी छिट्टै समस्याको समाधान गछौँ ।’ भन्छन् । सरकारमा भएकाहरु नेताको घरमा आगो लगाउनेलाई गोली ठोक्न लगाउँछन्, शान्तिपूर्ण आन्दोलन गर्नेलाई लाठी बर्साउन लगाउँछ अनि सरकार र कुर्सी गुम्ने डरले भारतको आशिर्वाद थाप्छ ।

 

एक त हामी गरिब देशका नागरिक । त्यसमाथि भूकम्पको पीडासँगै थुप्रै भौतिक संरचनाको निर्माण तथा पुर्ननिर्माण गर्नुपर्ने जिम्मेवारी हामीसँग छ । हामीसँग ध्वस्त भौतिक संरचनाको निर्माण तथा पुनःनिर्माण गर्ने आफ्नै औकात छैन । विदेशीको सहयोग लिनुपर्छ त्यसमा पनि । अझ त्यतिले पुगेन भनेर हामी आन्दोलन, स्वतन्त्रता, अखण्डता, अधिकार र न्यायका नाममा तोडफोड र आगजनी गर्दै हिडिरहेका छौँ । भूकम्प, बाढीपहिरो, दुर्घटनाबाट हजारौँ नेपाली मरिसकेका छन् । त्यतिले पुगेन भनेर हामी अझ जनताको छातिमा गोली ठोक्न तम्सिरहेका छौँ । दशगजा क्षेत्रमा सीमा मिचिदा त तिमीहरु हामीलाई थाहा छैन भन्छौ । यदी तिमीहरु यसलाई मर्दाङ्गी ठान्छौँ भने जाऊ सीमामा गएर दशगजा बचाउ । अतिक्रमित सीमा फिर्ता गराउन नारा लगाऊ । त्यहाँ लुकेको छ देशको अखण्डता, स्वाभिमान, राष्ट्रियता, पहिचान अनि अस्तित्व । जय नेपाल ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us