उपचार गर्ने ठाउँ नहुँदा खुला आकासमुनि

काठमाण्डु टुडे २०७२ साउन २६ गते ९:१० मा प्रकाशित

hhhजाजरकोट, २६ साउन– जाजरकोको मजकोट गाविसमा रहेको उपस्वास्थ्य चौकीमा उपचार गर्ने सामान्य कोठासमेत नहुँदा यस क्षेत्रका बिरामीको खुला आकासमुनि उपचार गर्नुपर्ने बाध्यता छ ।

चौकीमा पुरानो जीर्ण एककोठे भवनमा दैनिक उपचार गर्दा निकै अप्ठ्यारो भएको चौकीका प्रमुख सुनिल बज्राचार्यले बताउँछन् ।  दैनिक दर्जनभन्दा बढी बिरामी आए पनि उपचार गर्न ठाउँको अभावमा निकै समस्या हुने गरेको छ । विसं २०६९ मा दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौताअनुसार फेन्स कन्स्ट्रक्सन प्रालि गङ्गबू काठमाडाँैले पाँच करोडमा निर्माण कार्य थालेको भवन अहिले जग मात्र निर्माण गरी ठेकेदार सम्पर्कमा नरहेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालक काशीराम न्यौपानेले जानकारी दिए।

स्वास्थ्य संस्थामा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामी आएमा ठाउँको अभावमा खुला चौरमा उपचार गर्नुपर्ने बाध्यता रहेको छ । वर्षायाममा पानी पर्दा स्वास्थ्य संस्था नजिकको घरमा लिएर उपचार गर्नुपर्ने समस्या रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय र जिल्लाका राजनीतिक दललाई स्वास्थ्य संस्थाको विषयमा गम्भीर बनिदिन आग्रह गरे पनि कसैले वास्ता नगरेको स्थानीय वडा नागरिक मञ्चका अध्यक्ष अम्मरबहादुर बूढाले गुनासो गरे ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख धीरजङ्ग शाहले जति ठेकेदारलाई ताकेता गरे पनि आफूहरुको केही नलागेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us