पूरक परीक्षा दिने विद्यार्थी समस्यामा

काठमाण्डु टुडे २०७२ साउन २४ गते १३:२७ मा प्रकाशित

bardiya-district
बर्दिया, २४ साउन-विद्युत्भार कटौतीका कारण एसएलसी पूरक परीक्षा दिने विद्यार्थी समस्यामा परेका छन् । विद्युत्भार कटौतीले पटकपटक बत्ती जाने गरेपछि पढ्न नपाएर विद्यार्थी समस्यामा परेका हुन् ।

 

पूरक परीक्षा दिन जिल्लाका विभिन्न विद्यालयबाट सदरमुकाम गुलरिया आएका अधिकांश विद्यार्थीले बिहान–बेलुकाको विद्युत्भार कटौतीका कारण पढ्न नपाएको गुनासो व्यक्त गरेका छन् । राति अबेरसम्म पनि विद्युत् नआएपछि क्यान्डेल र टुकीको भरमा पढेको उनीहरुले बताए ।

 

मुख्यगरी ग्रामीण इलाकाबाट सदरमुकाम आएका विद्यार्थी यसको मारमा परेका छन् । गरिबीका कारण ठूला होटल तथा गेस्टहाउसमा बस्न नसक्ने विद्यार्थी स–साना होटल र घर भाडामा बसेका छन् । यस्ता ठाउँमा इन्भर्टरको सुविधा नभएकाले बत्ती नभएको बेला पढाइ अवरुद्ध भएको विद्यार्थीले बताए ।
अंशु बर्मा उच्च माध्यमिक विद्यालय मगरागाडीबाट परीक्षा दिन आएकी सीमा आचार्यले भनिन्, ‘परीक्षाको समय विद्युत्भार कटौती नभए कति राम्रो हुने थियो ।’ सदरमुकामका विद्यालयमा मात्र परीक्षा केन्द्र निर्धारण गरिएकाले केही दिनयता पूरक परीक्षा दिने विद्यार्थी गुलरियामा केन्द्रित भएका छन् । साउन २० गतेबाट सुरु भएको पूरक परीक्षामा बर्दियाबाट छात्रा तथा छात्र गरी दुई हजार २३३ विद्यार्थी सहभागी भएको जिल्ला शिक्षा कार्यालय बर्दियाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us