भानुजन्मस्थलमा कविता वाचन

काठमाण्डु टुडे २०७१ फागुन २४ गते ३:०२ मा प्रकाशित

 

काठमाण्डु, २४ फागुन – विद्युत्कर्मी साहित्यिक समाज र भानु पुस्तकालयद्वारा शनिबार भानुजन्मस्थल चुँदीमा विशेष काव्य गोष्ठी र ‘ज्योति’ साहित्यिक त्रैमासिकको २५औँ अङ्क लोकार्पण भयो ।

सो अवसरमा समाजका सदस्य तथा स्थानीय कृष्णदेव रिमाल, विकास चित्रकार, सुरेन्द्र देवकोटा, सागर उदास, आकाश अधिकारी, अनिल श्रेष्ठ, सङ्गम सापकोटा, रामप्रसाद पौडेल, मधुकला आचार्य, नारायणप्रसाद पोखरेल, उपेन्द्र न्यौपाने, प्रकाश आचार्य, विन्दु शर्मा, कोमलनाथ आत्रेय, ध्रुवराज न्यौपानेलगायत करिब ३० जनाले कवितावाचन गरे।
कार्यक्रममा विद्युत्कर्मी साहित्यिक समाजका अध्यक्ष पुण्य घिमिरेले भानुलाई चिन्न र चिनाउन आफूहरु चुँदीसम्म आइपुगेको बताए । भानु जन्मस्थल विकास समितिका अध्यक्ष विष्णुहरि पाण्डेले आदिकवि भानुभक्त आचार्यको जन्मघर चुँदीरम्घास्थित शिखर कटेरी धर्मशालामा रु ५० लाखको बजेटबाट रामायणभवनलगायत विभिन्न काम भइरहेको र पश्चिमाञ्चल विकास मञ्चबाट भानुघर बनाउन पहल भइरहेको जानकारी दिए ।

स्थानीय समाजसेवी रामबहादुर अधिकारीले भानुभक्तले जस्तै नेपाल र नेपालीको इज्जत बढाउने काम गर्न साहित्यकारलाई आग्रह गरे ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us