नारामा सीमित हुँदै महिला दिवस

काठमाण्डु टुडे २०७१ फागुन २३ गते ७:५९ मा प्रकाशित

women day
काठमाण्डु,२३ फागुन- धनुषाकी ६० वर्षीया शारदा चौधरी ५० वर्षकी हुँदा श्रीमान् दिलीपको निधन भयो ।

श्रीमानको मृत्युपछि चरम गरिबीले पिल्सिएको शारदाको परिवारलाई दुई छाक टार्नसमेत धौधौ भयो । यसैबीच शारदालाई गाउँलेले बोक्सीको आरोप लगाएर गाउँ निकाला गरिदिए । श्रीमान मृत्युपछि मेरो दरिद्रता देखेर गाउँलेले बोक्सी भन्दै कुटपिट गरे,मलाई गाउँमा बस्नै दिएनन्,बल्लतल्ल ज्यान जोगाएर यता काठमाडौँ आएकी हुँ,उनले भनिन् ।

बोक्सीको आरोपमा विस्थापित भएर अहिले कोटेश्वरमा तरकारी पसल गरी छोराछोरीको लालनपालन गरिरहनु भएकी शारदाले गुनासो गरिन्,जो गरिब छ,जसको श्रीमान् छैन्,जो सबै पक्षबाट कमजोर छ, उसैलाई बोक्सीको आरोप लगाइन्छ ।

नवलपरासीकी धनकुमारी धितालको २०६७ सालमा बुटवल निवासी सागर अधिकारीसँग धुमधामसँग विवाह भयो । तर दाइजो नल्याएको निुहँमा श्रीमानले उल्टै कुटपिट गरी विवाह गरेको तीन दिनमै घरबाट निकालिदिए । हाल नयाँ बानेश्वरमा चिया पसल गर्ने धिताललाई श्रीमान्ले मात्र होइन,सासूससुराले समेत विभिन्न बहानामा गाली गरेर कुटपिट गरे । उनी अहिले घाट न घरको भएकी छिन् ।

यसरी महिला भएकै कारण विभिन्न विभेद भोग्दै हिंसामा पर्ने चौधरी र धिताल उदाहरण मात्रै हुन् । चौधरी र धिताल जस्तै धेरै महिला श्रीमान् र परिवारका सदस्यको कुटपिट,मानसिक यातना,घर निकाला,शारीरिक यातना, गालीगलोज, बोक्सी आरोप, हत्या, यौनिक हिंसाजस्ता ज्यादतीका सिकार भइरहेका छन् ।

मुलुकका विभिन्न स्थानमा दाइजो नल्याएको निुहँमा परिवारले जिउँदै जलाएर मार्ने घटना पनि उत्तिकै छन् । किशोरी शिवा हासमीलाई जिउँदै जलाएर मारियो । वैदेशिक रोजगारीबाट फर्किंदा सीता राई लुटिइन् र बलात्कारको सिकार भइन् । पछिल्लो पटकको तथ्याङ्क हेर्ने हो भने पाँचदेखि ७२ वर्षीयासम्म आफन्तबाटै बलात्कारको सिकार भएका थुप्रै घटना भएका छन् ।

यही फागुन १० गते दुई किशोरीमाथि एसिड आक्रमण गरियो । ती किशोरीमाथि एसिड आक्रमण भएको करिब दुई साता बितिसक्दासमेत घटनाका दोषी पत्ता लाग्न सकेका छैनन् । वसन्तपुरको झोँछेस्थित ‘ए माइनस प्लस ट्युसन सेन्टर’मा पढ्न गएका सङ्गीता मगर र सीमा बस्नेतमाथि यस्ता जघन्य कुकृत्य भएको हो ।

महिलामाथि हुने विभेद तथा हिंसा अन्त्य गर्न घरेलु हिंसा (कसुर र सजाय) ऐन र बलात्कारसम्बन्धी ऐनलगायत थुप्रै कानुन निर्माण गरिएको छ तर ती कडाइका साथ कार्यान्वयन भएको देखिँदैन । पछिल्लो पटक कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार ९निवारण० गर्नेसम्बन्धी बनेको ऐन,२०७१ लाई पनि कडाइका साथ कार्यान्वयन गरिएको देखिँदैन ।

उता आमाका नामबाट नागरिकता पाउने सवालमा कानुनमा व्यवस्था भए पनि प्राप्त गर्ने प्रक्रिया अझै सहज बनाइएको छैन । महिला हिंसा अन्त्यका लागि विभिन्न दबाब तथा चेतनामूलक कार्यक्रम र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस भव्य रुपमा गरिँदै आए पनि महिला हिंसा जस्ताको तस्तै रहेको थुप्रै घटनाक्रमले देखाउँछ ।

नेपाली महिलाले छ दशकदेखि गरेको सङ्घर्षपछि मतदान गर्ने, उम्मेदवार हुने, निर्वाचन हुन पाउने अधिकार पाए । फलस्वरुप पहिलो संविधानसभामा ३३ प्रतिशत महिला सहभागिता रहन पुग्यो । दोस्रो संविधानसभासम्म आइपुग्दा त्यो सङ्ख्या घटेर ३० प्रतिशतमात्र भएको छ ।

मार्च ८ अर्थात् यही फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस नेपालमा हरेक वर्ष मनाइन्छ । यो वर्ष ‘लैङ्गिकमैत्री संविधानः महिला हिंसाको निदान’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । महिला,बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रिय महिला आयोग र विभिन्न गैरसरकारी सङ्घसंस्थाले संयुक्त रुपमा दिवस मनाउने तयारी गरिरहेका छन् । विभिन्न कार्यक्रम गरी मनाइने सो दिवसको सम्पूर्ण तयारी पूरा भएको महिला आयोगले जनाएको छ ।

women 1

अन्तरपार्टी महिला सञ्जाललगायत सङ्घसंस्थाले पनि दिवसका दिन छुट्टाछुट्टै कार्यक्रम गर्ने भएका छन् । ‘महिलाको सशक्तीकरणः मानवताको सशक्तीकरण’ भन्ने नाराका साथ १०५ औँ अन्तर्राष्ट्रिय महिला दिवस २०१५ विश्वभरिका महिलाले एकैसाथ मनाउँदैछन् ।

राष्ट्रिय महिला आयोगका सदस्य उर्मिलादेवी विश्वकर्माले सम्पत्तिमा महिलाको अधिकार,प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार, आमाको नामबाट नागरिकता पाउने अधिकार र राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताको विषयलाई संविधानमै व्यवस्था गर्नुपर्ने धारणा प्रकट गरिन् ।

महिला अधिकारकर्मी दुर्गा सोबले महिला हिंसा अन्त्य वा महिला र पुरुषबीचको विभेद अन्त्य गर्ने विषयमा महिलाजत्तिकै पुरुषको पनि भूमिका हुने बताइन् । उनले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्ने मुख्य दायित्व राज्यको भएको हुँदा त्यहीअनुरुप पहल हुनुपर्ने बताइन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको सुरुआत अमेरिका तथा युरोपका श्रमिक महिलामाथि सैनिक दमन गरिएपछि भएको औद्योगिक क्रान्तिको परिमाणस्वरूप सन् १९औँ शताब्दीमा भएको देखिन्छ । सन् १८५९ मार्च ८ मा कपडा उद्योगमा कार्यरत श्रमिक महिलाले आफूलाई कम ज्याला दिएको तथा १२ घन्टासम्म काममा लगाई अमानवीय कार्य गरेको भन्दै अमेरिकाको न्युयोर्कमा विरोध प्रदर्शन गर्दा प्रहरी दमन भई धेरै महिला पक्राउ पर्नाका साथै घाइतेसमेत भएका थिए ।

त्यसैगरी पुनः सन् १९०८ मार्च ८ मा महिलामाथि भएको सैनिक दमनको विरुद्ध तथा मतदानको अधिकार र बाल श्रमिक प्रयोगको अन्त्यको माग गर्दै तीसौँ हजार महिलाले एक विरोध पदयात्रा निकाले । त्यसलाई प्रत्येक वर्ष विश्वभर एकै दिन उत्सवका रूपमा मनाउन जर्मन महिला क्लारा जेट्किनले सन् १९१० मा कोपनहेगनमा आयोजित श्रमिक महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्ताव गरेकी थिइन् ।

यो प्रस्तावमा सहमति जनाउँदै अस्ट्रिया, डेनमार्क, जर्मनी, स्विट्जरल्यान्डजस्ता विश्वभरका महिलाले महिलाको काम गर्न पाउने अधिकार, मतदानको अधिकार, प्रशिक्षित हुन पाउने अधिकार,सार्वजनिक क्षेत्रमा काम गर्न पाउने अधिकार तथा महिलामाथि हुने विभेदको अन्त्यको मागसहित मार्च १९ लाई दिवसका रूपमा मनाउन थालिएको हो । सुरुमा प्रत्येक वर्षको मार्च १९ मा मनाउन थालिएको यो दिवसलाई सन् १९१३ देखि मार्च ८ का दिन अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा विश्वभर मनाउने चलन बसालिएको हो ।  -सुशिल दर्नाल

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us