यातायातका हाकिमलाई यात्रुले नै भने,‘सुट लगाएका छौ,१ रुपैयाँमा किचकिच गर्छौ’

काठमाण्डु टुडे २०७१ फागुन २२ गते १३:४१ मा प्रकाशित

bus
काठमाण्डु,२२ फागुन- सरकारले तोकेको नयाँ भाडादर कार्यान्वयन गराउनका लागि ‘खुद्रा पैसा’ बाधक भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

उपत्यका बाहिर निश्चित रुपैयाँमा भाडादर कायम गर्दा कार्यान्वयनमा समस्या नभएपनि उपत्यकामा भने खुद्रा पैसाका कारण पनि भाडादर कार्यान्वयनका लागि समस्या भएको विभागले जनाएको हो । सरकारले उपत्यकामा न्यूनतम भाडादर १३ तोकेको छ ।
१३ रुपैयाँ भाडा तिरेपछि फिर्ता दिनका लागि दैनिक हजारौँ सिक्का पैसा चाहिने भएकाले अहिले उपत्यकामा भाडादर कार्यान्वयन हुन नसकेको विभागले जनाएको छ ।

खुद्रा पैसाका कारण पनि यो भाडादर कार्यान्वयन गर्न अप्ठ्यारो देखिएको छ । अनुगमनका क्रममा खुद्रा पैसाको समस्या हामीले नै अनुभव गरेका छौ,विभागका महानिर्देशक मधुसुदन बुर्लाकोटीले भने, “स्वयम्भूदेखि महाराजगन्जसम्म कान्तिपुर यातायातमा अनुगमनका लागि यात्रा गर्दा बसका सहायकले १ रुपैयाँ फिर्ता नदिएपछि पटकपटक किचकिच गर्दा एक यात्रुले सुट लगाएको मानिस एक रुपैयाँका लागि कति किचकिच गर्छ भनी उल्टै गाली गरे,चालकले चाहिँ खुद्रा पैसा नभएर फिर्ता नदिएको र उनलाई ५ नै फिर्ता दिन सहायकलाई भने,अन्तिममा म विभागको महानिर्देशक भनी परिचय दिएर हिँडें ।

आमयात्रुमा भाडाका विषयमा जनचेतना नभएकाले पनि सरकारले तोकेको भाडादर कार्यान्वयन गर्न नसकिएको उनको अनुभव छ । हामी यात्रुका लागि नयाँ तोकिएको भाडादर कार्यान्वयन हुनुपर्छ भनी हिँड्दा पनि यात्रुकै सहयोग पाउन सकिएको छैन,हामीजस्ता कर्मचारी,प्रहरी र पत्रकारले मात्र भाडादर कार्यान्वयनका लागि बसमा माग गर्ने गरेका छन्,अरु यात्रुलाई वास्तै छैन, उनले भने ।

यात्रुको सहयोग पाए भाडादर कार्यान्वयन गर्न सजिलो हुने विभागको अनुगमनका क्रममा देखिएको महानिर्देशक बुर्लाकोटीले बताए । खुद्रा पैसाको समस्याले पनि भाडादर कार्यान्वयनमा समस्या देखिएकाले राष्ट्र बैंकले पनि आवश्यक खुद्रा पैसा उपलब्ध गराउनुपर्ने देखिएको विभागले जनाएको छ ।

बजारमा आउने खुद्रा पैसा व्यक्तिले दैनिक घरमा खुत्रुकेमा जम्मा गरी फेरि बजारमा प्रयोगमा नल्याउने भएकाले पनि सार्वजनिक यातायातमा खुद्रा पैसाको समस्या रहेको विभागको ठहर छ ।
भाडा घटाउने नीतिगत निर्णय गरी विभागलाई कार्यान्वयनका लागि निर्देशन दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला सिक्का अथवा खुद्रा पैसाकै कारण भाडादर कार्यान्वयन हुन नसक्ने अवस्था नरहेको बताउँछन् । विकसित मुलुकमा भए यस्तो समस्या आउने थिएन,लामो दूरीमा नयाँ भाडादर कार्यान्वयन भइसकेकाले नियम कानुनअनुसार घटाइएको भाडा उपत्यकामा पनि लागू गराइनेछ,जसले कार्यान्वयन गर्दैन उसलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ,उनले भने ।

यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिवाकोटी सरकारले वैज्ञानिक भाडादर अनुसार १३।७२ सार्वजनिक गरी खुद्रा पैसाको समस्याका कारण १३ भाडा लिन सार्वजनिक अनुरोध गरेकामा अहिले यो अनुरोध कार्यान्वयन गर्न नसकिएको बताउँछन् । यातायातमा काम गर्ने सहयोगीलाई खुद्रा पैसाको समस्या पर्ने भएकाले यसको पूर्ति नेपाल राष्ट्र बैंकले गर्नुपर्छ, भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us