कोइरालाले भने, ‘बुद्धको जन्मभूमिमा हिंसाको कुरा नगर’

काठमाण्डु टुडे २०७१ फागुन २२ गते ९:४८ मा प्रकाशित

sushil koirala
काठमाण्डु,२२ फागुन- प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा अहिले सत्य,शान्ति र अहिंसाको आवश्यकता रहेकाले बौद्ध धर्मावलम्बीलाई शान्ति र अहिंसाको सन्देश फैलाउन आग्रह गर्नुभएको छ ।

बौद्ध धर्मका प्रसिद्ध तीर्थस्थलको भ्रमणपछि भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका पदाधिकारी एवम् धर्मगुरुसँगको भेटमा प्रधानमन्त्री कोइरालाले गौतम बुद्धको जन्मभूमि नेपालमा यतिखेर द्वन्द्व,हिंसा र विवाद नभई अहिंसा,शान्ति र सहमतिको आवश्यकता रहेको बताए ।

मुलुकमा सधैँ आन्दोलन मात्र भएकाले गरिबी,अभाव र दुःख हट्न सकेन, प्रधानमन्त्री कोइरालाले भने,अहिले जनताले शान्ति,अमनचयन र समृद्धि खोजेकाले कसैले पनि आन्दोलन गर्न हुँदैन ।”

नयाँ बन्ने संविधानले मात्र विगतका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने र सबै जातजाति,धर्म, लिङ्ग,क्षेत्र र वर्गका हकअधिकारलाई सुनिश्चित गर्ने बताउँदै प्रधानमन्त्री कोइरालाले त्यसका लागि सबैको सहयोगको अपेक्षा गरे ।

सो भेटमा समितिका पदाधिकारीले वार्षिक कार्यक्रम ‘३९औँ बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम’को अनुभव सुनाउँदै गुम्बा,विहार,छ्योर्तेन,कोइबोलगायत ऐतिहासिक धरोहरको सम्वद्र्धन र संरक्षणसम्बन्धी ऐन कानुनको निर्माणलगायत माग गरेका थिए ।

समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले बौद्ध शिक्षासम्बन्धी पर्याप्त शैक्षिक सामग्री एवम् अनुदानको व्यवस्था हुनुपर्ने,गुम्बाका जग्गा तत्काल गुम्बाको नाउँमा कायम हुनुपर्ने लगायत माग गर्दै मुलुकमा ६१ जिल्लाका दुई हजार १ सय ९२ गुम्बा समितिमा दर्ता भएको र करिब चार हजार गुम्बा समितिमा दर्ता गर्न बाँकी रहेको जानकारी दिए ।

सरकारले ३९ वर्षदेखि नेपालका ऐतिहासिक,पुरातात्विक एवम् सांस्कृतिक महत्वका गुम्बाविहार, बहाल, बहिल, तथा छ्योर्तेनको संरक्षण र सम्वद्र्धनका लागि लामा,भिक्षु धर्मगुरुलाई भ्रमणको व्यवस्था मिलाउँदै आएको छ । बुद्धको जन्मथलो लुम्बिनीलगायत भारतका बोधगया, सारनाथ, कुशीनगर, लुदुकवा,सुजता,कुटी,गया, वैशाली, राजगीर, नालन्दालगायत प्रसिद्ध तीर्थस्थलको भ्रमण गरेको सा टोलीमा १६ जिल्लाका २१ लामा एवम् आनी र समितिका कर्मचारीको सहभागिता थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us