आचारसंहिता उल्लङ्घन गर्नेलाई काउन्सिलले छाड्दैन्ः कार्की

काठमाण्डु टुडे २०७१ फागुन २१ गते १२:५२ मा प्रकाशित

borna bahadur
झापा,२१ फागुन- नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले व्यक्तिको मानमर्दन गर्ने जनताका बीच द्वेष सृजना गर्ने तथा राष्ट्र र राष्ट्रियताका विरुद्ध भूमिका खेल्ने पत्रकार एवम् संस्था विरुद्ध प्रेस काउन्सिल कठोर हुने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ झापा शाखाको संयोजन र प्रेस काउन्सिल नेपालको आयोजनामा बिहिबार विर्तामोडमा आयोजित ‘पत्रकार आचारसंहिता जागरण अभियान २०७१’कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले पत्रकारहरुमा जे पनि गर्न पाइन्छ भन्ने दम्भ बढेको भन्दै आचारसंहिताको परिधिमा रहन सल्लाह दिए ।

पत्रकारिता क्षेत्रमा देखिएका समस्याको पहिचान गरी निराकरणका लागि प्रयास गर्ने अभियानको उद्देश्य रहेको भन्दै अध्यक्ष कार्कीले असल पत्रकारको सेवा निवृतिपछि सुरक्षा गर्न काउन्सिल प्रयासरत रहेको बताए । पत्रकार र पत्रकारिता जनता,समाज र देशप्रति जिम्मेबार हुन्छन् भन्दै भने,‘त्यसकैलागि आचारसंहिता जागरण अभियान सञ्चालन गरिएको हो । यसले पत्रकारलाई जिम्मेवार,उतरदायीपूर्ण र विश्वसनीय हुन प्रेरित गर्ने छ ।’

नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका सदस्य मुरलीप्रसाद यादवले प्रेस स्वतन्त्रता,पत्रकार आचारसंहिता र प्रेस काउन्सिल नेपाल विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । ‘स्वस्थ,जिम्मेवार र व्यावसायिक पत्रकारिताका लागि आचारसंहिता पालना गरौँ’ नारा रहेको सो कार्यक्रममा काउन्सिलका सदस्य सुर्दशन आचार्य र महासङ्घ झापाका उपाध्यक्ष तारामणि सापकोटाले गोष्ठीको औचित्यमाथि प्रकास पारेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us