बढ्यो सहमतिको सम्भावना

काठमाण्डु टुडे २०७१ फागुन २१ गते २:४२ मा प्रकाशित

sushil-kp-prachanda-bijayaकाठमाण्डु, २१ फागुन– प्रमुख तीन दलका शीर्ष नेताहरुबीच जेठ १५ भित्रै संविधान जारी गर्ने गरी सहमति खोज्ने कोशिस भइरहेको छ । सत्तारुढ र विपक्षी दलका नेताहरुको अनौपचारिक संवाद बाक्लिएको छ । मुख्य विपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफैं यसमा सक्रिय देखिएका छन् ।

प्रधानमन्त्री सुशील कोइरालासँग मंगलबार चितवनमा एउटै कार्यक्रममा देखिएका दाहाल बुधबार बिहानै एमाले नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगे । बिहान ७ बजे नेपाल निवासमा कुराकानी गरेर उनी मध्यान्ह १२ बजे नेपालसँगै बुद्ध एयरको जहाजमा सँगै बसेर पोखरा गए ।

दाहालसित निवास र विमानमा रहँदासमेत राजनीतिक निकासकै विषयमा छलफल भएको एमाले नेता नेपालले बताए । ‘जसरी पनि जेठ १५ भित्रै संविधान जारी गर्नुपर्छ भन्नेमा उहाँ पनि तयार देखिनुभएको छ’, नेपालले कान्तिपुरसँग भने, ‘सहमतिबाटै समाधान खोजौं भन्नेमा उहाँ (दाहाल) अलि गम्भीर भएको मैले पाएको छु ।’

शान्ति प्रक्रियामा सुरुदेखि नै सक्रिय भूमिका खेलेका पूर्वप्रधानमन्त्री नेपाल अहिलेको संक्रमण चिर्न पनि सक्रिय हुन थालेका छन् । कांग्रेससँग पनि जेठ १५ कै समयसीमाभित्र सहमति गर्ने ढंगले कुराकानी भइरहेको उनले जनाए तर सहमति कसरी गर्ने भन्ने विकल्पबारे भने उनले खुलाउन चाहेनन् ।

‘सहमति गर्न समस्या छैन, तर के–कस्तो विकल्प भन्नेमा अझै ठोस ढंगले कुराकानी भएको छैन’, नेता नेपालले भने, ‘हामी अनौपचारिक छलफलमा छौ ।’ संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले भने जेठ १५ भित्र संविधान जारी गर्ने गरी सहमति खोज्न दलहरुलाई सुझाव दिएका थिए ।

कोटेश्वरमा नेपाललाई भेटेपछि एमाओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्रीसित भेटवार्ता गरेका थिए । त्यहाँ झण्डै ४५ मिनेट कुराकानी भएको थियो । प्रधानमन्त्रीसँगको भेटमा दाहालले शान्ति सम्झौतालगायतका सम्झौता र त्यससँगका सहयात्री दलहरुबीचको सहमतिअनुसारको संविधान जारी गर्ने खालको प्रतिवद्धता व्यक्त गर्न पुनः आग्रह गरेका थिए ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us