आदर्श राजनीतिले मात्र किसुनीको सच्चा श्रद्धाञ्जली भएको ठहर्छः खड्का

काठमाण्डु टुडे २०७१ फागुन २० गते १०:५८ मा प्रकाशित

narayan khadka
काठमाण्डु,२० फागुन- सहरी विकास मन्त्री नारायण खड्काले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेस पूर्वसभापति कृष्णप्रसाद भट्टराईप्रति सच्चा श्रद्धाञ्जलि गर्ने हो भने उनको आदर्श राजनीतिक चरित्रको अनुशरण सबैले गर्नुपर्ने बताएका छन् ।

सन्त नेता भट्टराईको पाँचौँ स्मृति दिवसका आवसरमा नेपाल प्रेस युनियनले बुधबार आयोजना गरेको कार्यक्रममा उनले पूर्वसभापति भट्टराईको नैतिक बलनै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै नेता किसुनजीको सोही चरित्रका कारण २०४७ सालमा निर्धारित समयमै संविधान निर्माण गरी मुलुकलाई निकास दिएको स्मरण गरे ।

मुलुकको राजनीतिका साथै पत्रकारिता क्षेत्रमा समेत आदर्श कार्यको सुरुवात गरेको उल्लेख गर्दै मन्त्री खड्काले चुनौतीपूर्ण अवस्थामा पनि सन्त नेता भट्टराईले मुलुक र जनताका लागि ठूलो योगदान गरेको चर्चा गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तथा वरिष्ठ पत्रकार हरिहर विरहीले मुलुक र जनताका लागि मात्र सधैँ राजनीति गरेका सन्त नेता भट्टराईले नेपालको पत्रकारिता क्षेत्रमा पनि अतुलनीय योगदान गरेको बताए ।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष तथा गोरखापत्र संस्थानका अध्यक्ष रमेश तूफानले मुलुकको वर्तमान राजनीतिकमा सहमति हुन नसकेको समयमा नेता भट्टराईको त्याग र इमानलाई अनुशरण गर्न सके राजनीतिक अवस्था सुध्रने विश्वास व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us