धार्मिक महोत्सवबाट पौने दुई करोड

काठमाण्डु टुडे २०७१ फागुन २० गते ८:५८ मा प्रकाशित

rukum-map
रुकुम,२० फागुन– रुकुममा धार्मिक महोत्सवबाट पौने दुई करोड सङ्कलन भएको छ ।

जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा गत पुस २६ देखि माघ ३ गतेसम्म सञ्चालन भएको १ सय ८ शान्ति कलश पुजन तथा धार्मिक महोत्सवमा एक करोड ८६ लाख ६४ हजार ८६ सङ्कलन भएको हो ।

महोत्सवमा शान्ति कलश,तुलादान,दान अक्षयकोष,शालिग्राम,चौरासी पूजालगायतबाट आर्थिक रकम सङ्कलन भएको मूल आयोजक समितिले जनाएको छ ।

महोत्सव सञ्चालनको लागि सङ्कलन भएको रकमबाट ५४ लाख ३१ हजार ९८ खर्च भएको आयोजक समितिका महासचिव एवम् त्रिभूवन जनता उच्चमाविका प्राचार्य मीनबहादुर पुनले बताए । बाँकी रकम विद्यालयको खातामा जम्मा गरिएको उनले बताए ।

महोत्वसको लागि मञ्च व्यवस्थापन,दान दातालाई सम्मान,प्रचारप्रसार,गुरुदक्षिणा,शालिग्राम लगायतका क्षेत्रमा रकम खर्च गरेको पुनले बताए ।

जिल्लाकै सबैभन्दा पुरानो विद्यालय त्रिभूवन जनता उच्चमावि र रुकुमेली क्याम्पसको सहयोगार्थ सञ्चालन गरिएको महोत्सवमा ६ जनाले भूमिदान गरेको बताइएको छ ।

महोत्सव अवधिभर १५ लाख भन्दा बढीले अवलोकन गरेको आयोजकले दाबी गरेको छ । महोत्सवबाट जम्मा भएको रकमले विद्यालय तथा क्याम्पस सञ्चाल गर्नमा ठूलो सहयोग पुग्ने प्राचार्य पुनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us