ज्ञानेन्द्रसँग औंला ठड्याएर बोल्न सक्थे किसुनजी

काठमाण्डु टुडे २०७१ फागुन २० गते ८:४६ मा प्रकाशित

ramhari khatiwada

पात्रो बेच्दाबेच्दै किसुनजीको सम्पर्कमा

२०४१ सालमा एसएलसी पास गरेपछि क्याम्पस पढ्न काठमाण्डु आएँ । बुबाले काठमाण्डुमा गर्ने खर्चका लागि ११ सय ७५ दिनुभएको थियो । दाई लक्ष्मी बाँस्कोटासँग ओखलढुंगाबाट काठमाण्डु आउँदा जम्मा ६३ रुपैयाँ खर्च भयो । बाँकी पैसा लक्ष्मी दाइले फिर्ता दिनुभएन । आर्थिक गर्जो टार्न होम ट्युशन पढाउँन थालें । ५ जना विद्यार्थीबाट महिनामा जनही ५० रुपैयाँ आउँथ्यो । डेढ सयले खान पुग्थ्यो । मैतीदेवीमा तीन जना मिलेर डेढ सयको कोठा लिएका थियौं । महिनामा ५० रुपैयाँ मेरो भागमा पथ्र्यो । ट्युशनबाट पुग्ने पैसा कमाई भए पनि चित्त बुझेको थिएन । अर्को रोजगारीको खोजीमा लागें । विक्रम पाण्डे नाम गरेका भोजपुरका मानिस भेट भयो । उनले स्ट्याज भन्ने विज्ञापन एजेन्सीमा काम लगाइदिए । त्यो एजेन्सीले एजेन्सीले पहेंलो कलरको टेलिफोन डाइरेक्टरी छापेर बेच्दो रहेछ । डाइरेक्टरी बेच्ने र त्यसमा छापिएको पैसा उठाउने काम पाएँ । डाइरेक्टरी राख्न ब्रिफकेश दिएका थिए । म ब्रिफकेश बोकेर हिंड्दै थिएँ । जमलनजिकै तीनधारा पाठशाला छेउमा एक जना सेतो कुर्ता सुरुवाल र कालो टोपी लगाएको मानिस देखें । नयाँ मानिस देखेपछि डाइरेक्टरी बेच्न फ्लो गर्थें । त्यो मान्छेको पछिपछि लागेर हिडें । ती मानिस असनको भित्रपट्टि गल्लीको एउटा घरभित्र पसे । कोठाको छेउमा लखिएको रहेछ, प्रनेका अर्थात प्रतिबन्धित नेपाली काँग्रेस । मलाई थाहा भयो ती मानिस रहेछन गणेशमान सिंह । अरु दुई जना पहिल्यै त्यहाँ रहेछन् । त्यसमध्ये एकले मलाई घर कता भनेर सोधे । ओखलढुंगा भनेपछि उनले भीमबहादुर अधिकारी चिन्छौ भने । भीमबहादुर मेरो गुरु भएको बताएपछि उनले मप्रति प्रेम भाव दर्साए । उनले भीमबहादुरलाई आफूले जेलमा पढाएको सुनाए । यो २०४२ सालतिरको कुरा हो । उनी रहेछन् कृष्णप्रसाद भट्टराई । अर्का रहेछन् गिरिजाप्रसाद कोइराला । भोलिपल्ट फेरि जान मन लाग्यो । त्यस दिन किसुनजीले पत्रिका पढेर सुनाउन भन्नुभयो । मैले गल्ती पढें भने किसुनजी सच्याउनुहुन्थ्यो । पत्रिका पढेपछि किसुनजीले सँगै जाऔं भन्नुभयो । लौरो टेकेर हिंडेका किसुनजीको पछिपछि गएँ । न्यूरोडको लक्ष्मी मिष्ठान्न भण्डारमा समोसा खायौं । उहाँले पैसा तिर्नुभयो र अब जाऊ भन्नुभयो । तेश्रो दिन पनि काँग्रेस कार्यालयमा गएँ । त्यस दिन मैले किसुनजीलाई एउटा डाइरेक्टरी दिएँ । त्यसमा श्री कृष्णप्रसाद भट्टराईलाई सप्रेम उपहार लेखेको थिएँ । डाइरेक्टरी पाएपछि किसुनजी खुसी हुनुभयो । सँगै रहेका बासु रिसाल, ध्रुवराम भण्डारी, योगप्रसाद उपाध्यायलाई उनले पार्टी कार्यालयमा टेलिफोन डाइरेक्टरी थिएन, यो बाबुले दियो भनेर खुसी हुनुभयो । धन्यवाद दिनुभयो । म नियमित पार्टी कार्यालय आउजाउ गर्न थालें । गणेशमान, किसुनजी र जिरिजाबाबु एउटै कोठामा बस्थे । महिनाको दुई सय रुपैयाँ दिएर किसुनजीले मलाई पत्रिका पढ्ने काममा राख्नुभयो । हरेक दिन पत्रिका पढेपछि समोसा खान न्यूरोड लानुहुन्थ्यो । किसुनजी कुपण्डोलमा भान्जीको घरमा बस्नुहुन्थ्यो । हरेक दिन पुलचोकबाट साझा बस चढेर पार्र्टी कार्यालय आउने जाने गर्नुहुन्थ्यो । उहाँसँग प्रायः ओमकार श्रेष्ठ, बासु रिसाल, योगप्रसाद उपाध्याय र म हुन्थ्यौं । एक जनाको बस भाडा २५ पैसा थियो । किसुनजी सबैको भाडा तिर्नुहुन्थ्यो ।
०४४ सालतिरको कुरा हो । म दसैंमा घर जानुपर्ने । घर जान किसुनजीसँग बिदा मागें । १५ सय दिनुभयो । ५ सय बुबालाई र ५ सय आमालाई खुट्टामा राखेर ढोगिदिनु । ५ सय तिमी तास खेल भन्नुभयो । तास म खेल्दिनथें । ठट्ठाका रुपमा भन्नुभएको हो । म घरबाट फर्कंदा सधैं उहाँलाई घ्यू ल्याइदिन्थें । किसुनजी घ्यू खुब मनपराउनुहुन्थ्यो । पात्रो बेच्दा भएको चिनजानबाट राजनीतिमा लागियो । कहिल्यै उहाँको साथ छाडिएन ।
०४६ को आन्दोलनभन्दा अगाडि किसुनजीलाई कुपण्डोलको डेरामै नजरबन्द गरिएको थियो । म बेलाबेलामा भेट्न गइरहन्थें । बाहिरको कुरा किसुनजीलाई सुनाउँथें । किसुनजीको सन्देश आन्दोलनकारीकोमा पुर्याउँथें । खास गरी किसुनजी र बाहिर रहेका शैलजा आचार्य, जगन्नाथ आचार्य र बलबहादुर केसीबीच सम्पर्क गराउने मेरो काम थियो । मैले नजरबन्दमा बसेका बेलामा पनि कहिल्यै उहाँलाई निराश भएको देखिन । सधैं आशावादी । नजरबन्दमा भएका बेला पनि उहाँलाई आफ्नो भन्दा पार्टी कार्यकर्ताको बढी चिन्ता हुन्थ्यो । मलाई पैसा छैन होला, फलानोबाट एक हजार लैजाउ भन्नुहुन्थ्यो । आन्दोलनमा आएका कार्यकर्ता भोकै होलान्, कतैबाट चिउरा लगेर खुवाउ भन्नुहुन्थ्यो । त्यतिबेला अरु पनि किसुनजी भेट्न जान्थे होला । तर म देख्दिनथें । आफू मात्रै किसुनजीलाई भेट्न गएजस्तो ठान्थें । किसुनजीले प्रहरीसँग कुरा मिलाउनुभएको थियो । प्रहरीहरु मलाई जतिबेला गए पनि भेट्न दिन्थे ।
किसुनजी प्रधानमन्त्री हुँदा नाचें
२०४६ सालको आन्दोलन सफल भएपछि अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि गणेशमानजीको नाम सारियो । तर, उहाँले प्रधानमन्त्री खान मान्नुभएन । गणेशमानजीले नै किसुनजीको नाम प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभयो । गणेशमानको घर चाक्सीबारीमा काँग्रेसका शीर्ष नेताहरु सहभागी बैठकले किसुनजीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो । म बाहिर थिएँ । खबर सुनेर म उफ्रिएर नाचें । चार तारे झण्डा भएको सर्ट लगाएर सहरमा खुसीयाली मनाइयो ।
अंग्रेजी राम्रो थियो
किसुनजीको अंग्रेजी एकदमै राम्रो थियो । प्रधानमन्त्री हुनेबित्तिकै जापानमा हुने एउटा कार्यक्रमका लागि किसुनजीले मलाई पठाउनुभयो । टोलीको नेतृत्व मैलै गरेको थिएँ । बहुदल आएपछि विदेश जाने नेपाली हामी नै पहिलो थियौं । सिद्धिलाल सिंहका छोरा राकेश सिंह, साहना प्रधानका भतिजा र एनसेलमा कार्यरत सञ्जु कोइराला टोलीमा थियौं । फोटोग्राफर थिए मीन बज्राचार्य । किसुनजीले कार्यक्रमको मन्तव्यका लागि अंग्रेजीमा हातैले भाषण लेखेर दिनुभएको थियो । जापानमा मैले हाउ टु मेक लभ्ली अर्थ (पृथ्वीलाई कसरी सुन्दर बनाउने ) भन्ने विषयमा मन्तव्य दिनुपर्ने थियो । किसुनजीले लेखेर दिएको मन्तव्य घोकेर कण्ठ पारेको थिएँ । बाथरुम जाँदा पनि पनि मैले त्यो पढेकै हुन्थें । अरु देशबाट सांसदहरु कार्यक्रममा आएका रहेछन् । हाम्रोमा त संसद थिएन । निर्वाचन हुनै बाँकी थियो । हामी सांसदको हैसियतमा गएका रहेछौं । किसुनजीले त्यसबारे केही भन्नुभएको थिएन । भारतबाट द्विगविजय सिंह, पाकिस्तानका पनि एक जना वरिष्ठा नेता आएका थिए । क्यानडाबाट तत्कालिन सभामुख नै आएका रहेछन् । विश्वका सयभन्दा बढी देशका प्रतिनिधिको भेला थियो त्यो । किसुनजीले लेखेको अंग्रेजीको भाषण कण्ठै पारेको थिएँ । ०४७ मा भर्खरै बीएल सकेको थिएँ, अँग्रेजी नराम्रो थिएन । अरुले लिखित भाषण गरे । मैले नहेरी परर बोलेको देखेर सबै चकित भए । भर्खर २१ वर्ष पुगेको थिएँ । यस्तो केटाले यस्तो खतरा भाषण गरेको भनेर चर्चा नै चल्यो । कोहीले पृथ्वी सुन्दर बनाउन एक दिन गाडी नचढ्ने घोषणा गरे । कसैले उद्योगधन्दा सहरबाहिर सार्नुपर्ने बताए । जापानमा त्यतिबेलै गाडीका कारण वातावरणमा प्रतिकुल असर पर्न थालिसकेको रहेछ । नेपालमा त गाडी भनेको फाट्ट फुट्ट मात्रै । मैले भनें, हाम्रा जनता धेरैले गाडी देखेका छैनन् । तपाईंहरु काँटाले खाना खानुहुन्छ । हामी नेपाली हातले भात खान्छौं । पृथ्वी सुन्दर हुन पहिला सबैले खान पाउनुपर्छ भन्ने तर्क गरें । मलाई थाहा छैन, जापानमा हरेक वर्ष किन प्रधानमन्त्री परिवर्तन हुन्छ ? नेपालको तर्फबाट शुभेच्छा छ अहिलेको सरकार एक वर्षमा नढलोस् । तोसिपु काइपु भन्ने प्रधानमन्त्री थिए । मेरो कुरा सुनेर उनले पनि निकैबेर ताली ठोके । अभिव्यक्ति कला राम्रो भएको भनेर मलाई तीन हजार डलर पुरस्कार दियो जापान सरकारले । नेपालबाट किसुनजीले दिएको दुई सय डलर लिएर गएका थियौं । तीन हजार डलर पाएपछि हाम्रो खुसीको सीमा भएन । यो कुरा किसुनजीलाई फोन गरेर सुनाएँ । त्यतिबेला जापान गएका नेपाली धेरै लुक्ने गरेका रहेछन् । उहाँले तिमी नलुक, नेपाल फर्क है भन्नुभयो । मेरो स्पिचबाट जापानी राजा अकिहितो पनि प्रभावित भएका रहेछन् । मलाई दर्शन भेट दिए । राष्ट्रप्रमुख भेट्दा उपहार दिनुपर्ने चलन हुँदोरहेछ । केही लगिएको थिएन । के दिने भन्ने समस्या भयो । चारतारे झण्डा थियो । मैले राजालाई काँग्रेसको झण्डा ओढाइदिएँ । जापानीहरुले ठूलो सम्मान दिएको ठानेछन् । भोलिपल्ट सबै पत्रिका र टेलिभिजनका स्क्रिन मैले राजालाई काँग्रेसको झण्डा ओढाएको फोटोले भरियो । अहिले पनि त्यो फोटो त्यहाँस्थित नेपाली दूतावासमा टाँगेर राखिएको छ । राजाले मलाई नेपालमा संविधान बन्दै गरेकाले काम लाग्छ भनेर जापानको संविधानको किताब किसुनजीलाई उपचारका रुपमा दिनु भएर पठाए । मैले किसुनजीलाई किताब ल्याएर दिएँ । हामी कोही पनि जापानमा नलुकी नेपाल फर्केकामा किसुनजीले प्रशंसा गर्नुभयो ।
व्यापारीले ब्रिफकेसमा २० लाख दिँदा
प्रधानमन्त्री भएपछि किसुनजी कुपण्डोलको निवासमा बस्नुभएको थियो । एक दिन बिहानै निवासमा एकजना व्यापारी ब्रिफकेस लिएर आए । उनले किसुनजीलाई दिए र गए । उहाँले यो राख भनेर मलाई दिनुभयो । भोलिपल्ट लगेर गएँ । किसुनजीको निर्देशनमा मैले खोलें । पैसाको बिटैबिटा रहेछ । गनेको २० लाख । किसुनजी छक्क पर्नुभयो । त्यो मानिसलाई बोलाउन भन्नुभयो । हामीले फोन गरेर बोलायौं । उ भौंतारिँदै आयो । किसुनजीले सहजतापूर्वक त्यति धेरै पैसा भएको ब्रिफकेस छाडेर हिंड्न हुन्छ बाबु भनेर गाली गर्नुभयो । उसले मैले तपाइँले भनेर काम भएकाले ल्याइदिएको बताए । तर उहाँले लैजाऊ, मलाई चाहिएन भन्नुभयो । त्यो मानिस रातोपिरो हुँदै गयो । पर पुगेपछि बोलाएर दुई लाख चाहिं माग्नुभयो । एक लाख मलाई र एक लाख अरु कोहीलाई दिनुभयो । किसुनजीले दिएको एक लाखले बुबाले ओखलढुंगामा किन्नुभएको खेत अहिले ५० लाखभन्दा बढीमा बिक्री हुन्छ । प्रधानमन्त्री भएपछि एकजना सिंगापुरका किसुनजीका व्यापारी साथी बधाई दिन आएछन् । राम्रो घडी उपहार दिएका थिए । ओमेगा घडीको मूल्य त्यतिबेलै १५५७ युरो थियो । अहिले पनि किसुनजीको चिनोका रुपमा घरमा राखेको छु । किसुनजीका नाममा समर्पित गरेकाले कहिल्यै बाँधेको पनि छैन ।

सेक्सबारे खुला कुरा गर्नुहुन्थ्यो
किसुनजी प्रष्ट बोल्नुहुन्थ्यो । त्यसमा पनि सेक्सका बारेमा झने प्रष्ट । किसुनजी प्रम हुनुभएको थियो । किसुनजी म र पिके क्याम्पसका लेक्चर नेपाल थरका एक जना थिए । पिकेकै बाटो भएर गाडीमा जाँदै थियौं । किसुनजी गफिनुभयो । होलीको समय थियो । लोला हान्ने प्रसंग चल्यो । किसुनजीले हाम्रो पालामा त केटीले हावामा किस गर्थे, तिमी केटाहरु के भएका खै ? भन्नुभयो । हामी हेरेको हेर्यै भयौं । राष्ट्यि सभागृहमा एउटा कार्यक्रम थियो, एचआइभी एड्ससम्बन्धी । उहाँ प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले भन्दिनुभयो, एड्स भनेको के हो मलाई थाहा छैन । तर लाग्यो भने सबैभन्दा पहिला कि मलाई कि पिएल सिंहलाई लाग्छ । किनभने हामीले बिहे गरेका छैनौं । उहाँले गर्नखोज्नुभएको संकेत सबैले बुझे । हाँसोले हल गुञ्जियो ।
अध्ययनशील र सूचना धेरै चाहिने मान्छे
किसुनजी अध्ययनशील हुनुहुन्थ्यो । त्यत्तिको अध्ययनशील नेता मैले अहिले देखेको छैन । अंग्रेजी साहित्यका किताबहरु खुब पढ्नुहुन्थ्यो । मनमोहन अधिकारीले संसदे विघटनको घोषणा गरे । त्यसबारे सर्वोच्चमा फैसला हुने दिन मलाई उहाँले सर्वोच्च पठाउनुभयो । विश्वनाथ उपाध्याय प्रधानन्यायाधीश थिए । उनकै बेञ्चमा फैसला हुँदै थियो । फैसलाले संसद् विघटनको निर्णय उल्ट्याइदियो । फैसला लेख्ने काम हुँदै गर्दा फोन गरेर किसुनजीलाई जानकारी गराएँ । भोलिपल्ट निवासमा धेरै मानिस भेला भएका थिए । किसुनजीले सोध्नुभो तपाईंहरुलाई सबैभन्दा रमाइलो के गर्दा हुन्छ ? सोध्नुभयो । कसैले सेक्स भने । कसैले के भने । अन्तिममा किसुनजीले भन्नुभयो, फ्रेस न्यूज आउँदा । हिजो रामहरिले संसद् विघटनबारेको समाचार दियो, धेरै खुसी लाग्यो ।
गिरिजालाई गाली गर्न लगाउनुभो
किसुनजीले ०४८ र ०५१ मा चुनाव हार्नुभयो । हामी निर्वाचन प्रचारमा खटिएका थियौं । माहोल उहाँकै पक्षमा थियो । तर पार्टीभित्रैको अन्तर्घातले हार्नुभयो । एक दिन गिरिजाबाबु आउँदै हुनुहुन्थ्यो । किसुनजीले मलाई भन्नुभयो, म त गिरिजाविरोधी होइन । तिमी हौ क्यारे । आज बेसरी गाली गर । मैले गिरिजाप्रसादलाई हप्काएँ । तपाईं पापी हो । किसुनजीलाई तपाईंले नै चुनाव हराउनुभएको हो । यहाँ किन आएको भनेर कराएँ । किसुनजीले तँ बाहिर गइहाल त । मेरो गाडीमा गएर बस भन्नुभयो । म गाडीमा बसें । किसुनजीलाई वृक्षारोपणको कार्यक्रममा जानुरहेछ । आउनुभयो र गाडी चढ्नुभयो । गाडीमा बसेपछि तिमिले जिरिजालाई गाली गरेर ठीक गरेका छौं भन्नुभयो । धन्यवाद नै दिनुभयो । खुसी भएर बिरुवा रोप्ने कामको शुभारम्भ नै मलाई गर्न लगाउनुभयो ।
फ्रान्स जान नपाएपक्ति विरक्तिनुभयो
०४८ को निर्वाचन र उपनिर्वाचनमा हार्नुभयो । ०५१ मा उठ्नुभएन । उहाँलाई अघि सारेर काँग्रेस चुनावमा गयो । बहुमत पनि आयो । तर तोकिइसकेको फ्रान्सको औपचारिक भ्रमण सकेर आउँछु, १० दिनको समय पाऔं भन्दा दिएनन् । हाम्रै पार्टीका नेताहरुले बर्बादै हुन्छ, आशाकै खस्छ भनेजस्तो गरे । किसुनजी सबै पार्टीलाई मिलाउन सक्ने हैसियत राख्नुहुन्थ्यो । एमाले र राजाका प्रतिनिधि सम्मिलित मन्त्रिपरिषदको नेतृत्व गरेर तोकिएकै समयमा मुलुकलाई संविधान दिनुभयो । त्यतिबेलाको एमाले अहिलेको माओवादीभन्दा उग्र थियो । त्यस्तो उग्र एमालेलाई पनि उहाँले विश्वासमा लिएर काम गर्नुभयो । राजाले १७ जना जर्नेललाई बालुवाटार पठाएर किसुनजीलाई घेर्न पठाए । उनीहरुले राजाको संविधान दिएर जारी गर्न दबाब दिए । किसुनजीले भोलिपल्टको गोरखापत्रमा जर्नेलहरुले दिएको संविधान छपाइदिनुभयो । बाहिर त्यसले हंगामा मच्चियो । त्यही बहाना बनाएर किसुनजीले मैले त मानेको हो महाराज, तर जनता मानेनन् भनेर कन्भिन्स गर्नुभयो । किसुनजीकै कारण राजालाई साइजमा राखेर संविधान आउन सम्भव भयो । त्यही रिस राजावादीहरुले चुनावमा फेरे । विदेशी पनि हामीले भनेको मानेन भनेर किसुनजीसँग फायर भएका थिए ।
सेन्स अफ ह्युमर राम्रो थियो
बालुवाटारमा एक दिन द्वारिका प्रसाद नामका मानिस आए । उनले काँग्रेस र किसुनजी भारतमुखी भएको आरोप लगाए । उनले किसुनजीलाई भारतको पिछलग्गु भने । किसुनजीले हल्का मुस्काउँदै भन्नुभयो, आफ्नो नाम द्वारिका राख्ने अनि म चाहिं भारतमुखी ? गयाप्रसाद र काशीनाथ नाम राखेर मलाई चाहिं भारतमुखी राख्नेहरुलाई म के भनौं । ती मानिस बोल्नै सकेनन् । चुपचाप फर्केर गए । ०४६ अगाडि आन्दोलन चर्किएको थियो । रामेछापका काँग्रेस सभापति मिनबहादुर भण्डारीले आन्दोलनमा भारतको समर्थन छ त ? भारतको समर्थन नभएको आन्दोलन कसरी सफल होला भन्ने प्रश्न गरे । किसुनजी कोठाभित्र जानुभयो र राजिव गान्धीको तस्वीर भएको पत्रिका ल्याएर देखाउनुभयो । यी हेर यसको समर्थन मलाई छ । किसुनजीलाई भारतीय समर्थन रहेछ भनेर मिनबहादुर चाहिं फुरुक्क परे । उहाँ आफैंले आफैंलाई व्यंग्य गर्न सक्नुहुन्थ्यो । अरुलाई व्यंग्य गर्दा पनि आफैंलाई उदाहरण दिने बानी थियो । एक दिन श्रीमान श्रीमती भेट्न आएछन् । श्रीमान एमदमै दुब्ला, श्रमती मोटी । किसुनजीले भन्नुभयो, श्रीमान एकदमै दुब्लो, श्रीमती एकदमै मोटी । कुरा सुनेर दुवै जनालाई अप्ठेरो लागेछ । किसुनजीले थप्नुभयो, आखिर सिलौटा ठूलो भए पनि मसला पिस्ने त लोराले नै हो क्यार । किसुनजी जस्तो अवस्थामा पनि हाँसेर बोल्नुहुन्थ्यो । सम्पत्तिको लोभलालच थिएन । निधन भएको दिन खल्तीमा २ सय ४० रुपैयाँ रहेछ । त्यो रकम हामीले सुरक्षित साथ बाँडेगाउँ आश्रममा राखेका छौं । तर दुःखको कुरा गणेशमान, बिपी, महेन्द्रनारायण निधि र मनमोहन अधिकारीको नाममा अस्पताल बने । तर किसुनजीको नाममा कसैले केही गरेन । किनभने उहाँका छोराछोरी नातिनातिना भएनन् ।

ज्ञानेन्द्रसँग सीधा सवालजवाफ
ज्ञानेन्द्रले नारायणहिटीमा भेट्न बोलाएछन् । किसुनजी भित्री बाहिरी कुरा गर्नुहुन्नथ्यो । उहाँले राजालाई लोकतान्त्रिक हुन सल्लाह दिनुभयो । जनताको अधिकार समयमै फिर्ता नगरे राजतन्त्र नै जाने चेतावनी उहाँले दिनुभएको थियो । यो कुरा ज्ञानेन्द्रका अगाडि औंला ठड्याएर भन्न सक्ने नेता किसुनजी मात्रै हो । अरु सबै पछि राजाविरोधी भएका हुन् । पहिला राजाकै मान्छे थिए । तर दुर्भाग्यवश तिनै मानिस रातारात गणतन्त्रवादी भए र किसुनजीलाई राजावादी करार गरे । किसुनजीले त्यसरी देखेको कुरा ठाडै नभनेको भए ज्ञानेन्द्रले प्रधानमन्त्री बनाइसकेका थिए । उहाँले जनअधिकार बहाली नभएसम्म आफूलाई प्रधानमन्त्री नचाहिएको स्पष्ट भन्नुभएको थियो, ज्ञानेन्द्रका अगाडि । ज्योतिषीले तीन पटक प्रम हुन्छस् भनेका छन् । म फेरि प्रधानमन्त्री हुन्छु भन्नुहुन्थ्यो । कृष्णप्रसादले चाह्यो भने ह्वीलचेयरबाटै देश चलाउँछ भन्नुभएको थियो । तर राजाले जनताको अधिकार जनतालाई फिर्ता गर्न तयार नभएपछि ज्योतिषी नै फेल भए । बीपी पुत्र प्रकाश कोइराला ज्ञानेन्द्रको प्रस्ताव लिएर घरमै गएका थिए । किसुनजी जत्तिको नेता नेपालमा अब जन्मन गाह्रो छ । अहिले फ्लास न्यूज जसरी आधा आधा घण्टामा कुरा फेर्ने नेता छन् । किसुनजीले कहिल्यै आफ्नो अडान फेर्नुभएन । सबै भागेर विशेश जाँदा उहाँ देशभित्रै बसेर काँग्रेसको अस्तित्व जोगाउन लागि पर्नुभयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us