आज किसुनजीको स्मृति दिवस, काँग्रेसले बिर्सियो सन्त नेता

काठमाण्डु टुडे २०७१ फागुन २० गते २:५९ मा प्रकाशित

Krishna_bhattaraiकाठमाण्डु, २० फागुन–काँग्रेस संस्थापक नेता एवम् पूर्वप्रधामनमन्त्री कृष्णप्रसाद भट्टराईको चौथो स्मृति दिवस बुधबार विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
आफ्ना संस्थापक नेताको स्मृतिमा काँग्रेसले भने कुनै औपचारिक कार्यक्रम आयोजना गरेको छैन ।

पार्टीले भट्टराईलाई बिर्सेकामा काँग्रेसभित्र रहेका उनका अनुयायी चिन्तित भएका छन् । ‘जसले आजीवन प्रजातन्त्रका लागि संघर्ष गरेको छ, उसलाई बिर्सने काम भयो’, काँग्रेस नेता एवम् सभासद् रामहरि खतिवडाले काठमाण्डु टुडेसँग भने, ‘यसबाट हामीलाई खुःद लागेको छ ।’

यसअघि भट्टराईका लागि सरकारले बनाइदिएको ललितपुरको बाँडेगाउँस्थित आश्रममा कार्यक्रम हुने गरेको भए पनि यसपटक भने नहुने भएको छ । आश्रम परिसरमा स्मृति दिवसका दिन भट्टराईको पूर्ण कदको प्रतीमा अनावरण गर्ने कार्यक्रम तय भएको थियो ।

खतिवडाका अनुसार कालीगढले प्रतीमा तयार पार्न ढिलाइ गरेका कारण उपयुक्त समयमा त्यहाँ कार्यक्रम गरिनेछ ।

सन्त नेताका रुपमा परिचित भट्टराईको ८७ वर्षको उमेरमा २०६७ साल फागुन २० गते निधन भएको थियो । भट्टराईको जन्म पिता संकटाप्रसाद र माता ललितादेवीको कान्छा छोराका रुपमा विक्रम सम्वत १९८१ पुस ८ गते भारतको बनारसमा भएको थियो ।

०३३ सालमा बीपी कोइरालाबाट कार्यबाहक सभापतिको जिम्मेवारी पाएका उनले ०५३ सालसम्म अनरवत रुपमा पार्टी सभापति सम्हालेका थिए ।

तत्कालिन विद्रोही माओवादी र सात राजनीतिक दलबीच भएको १२ बुँदे समझदारीसँगै काँग्रेसले संवैधानिक राजतन्त्रको धार परिवर्तन गरी गणतन्त्रलाई पार्टीको लक्ष्य बनाएपछि भट्टराईले जीवनको उत्तराद्धमा आफू काँग्रेस नभएको घोषणा गरेका थिए ।

आफ्नै प्रधानमन्त्रीत्वकालमा भएको २०४८ सालको आमनिर्वाचनमा उनी काठमाण्डु–१ बाट एमाले नेता मदन भण्डारीसँग पराजित भएका थिए ।

२०५६ को आमनिर्वाचनमा विजयी भएपछि भने उनी दोश्रोपटक प्रधानमन्त्री बनेका थिए ।
०१५ सालमा प्रतिनिधिसभाको सभामुख र २०४६ सालको आन्दोलनपछि गठित अन्तरिम सरकारका प्रधानमन्त्री भट्टराई निस्कलंक राजनेता मानिन्थे । उनी २०१५ सालमा प्रतिनिधिसभाको सभामुख र नेपाल पत्रकार महासंघको संस्थापक सभापतिसमेत थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us