हात्तीपाइले रोग निवारणका लागि औषधी सेवन महाअभियान सुरु हुँदै

काठमाण्डु टुडे २०७१ फागुन १९ गते १३:०३ मा प्रकाशित

Hattipaile
काठमाण्डु,१९ फागुन– हात्तीपाइले रोग निवारणका यो वर्ष पनि ‘औषधि सेवन महाअभियान’सञ्चालन हुने भएको छ । देशका ४१ जिल्लामा दुई चरणमा गरी यस वर्ष पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अभियान सञ्चालन गर्ने भएको हो ।

पहिलो चरणमा फागुन २३ देखि २५ गतेसम्म भोजपुर,इलाम,झापा,मोरङ,धनकुटा,तेह्रथुम, ओखलढुङ्गा,पाँचथर,सिराहा,सप्तरी,उदयपुर,अर्घाखाँचीलगायत ३८ जिल्ला र दोस्रो चरणमा फागुन ३० गते एवम् चैत १ र २ गते काठमाडौँ,ललितपुर र भक्तपुरमा सञ्चालन हुने जनाइएको छ ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ती जिल्लाका दुई वर्षमाथिका करिब एक करोड ६२ लाखलाई डाइथाइलकार्बामाजिन र अल्बेन्डाजोल चक्की महिला स्वयम्सेविकामार्फत घर घरमा गई खुवाइने जानकारी दिइएको थियो ।

मन्त्रालयको उच्च प्राथमिता प्राप्त कार्यक्रममध्ये सो कार्यक्रम पनि एक हो । विसं २०७६ सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्यअनुसार विसं २०६० देखि मन्त्रालयले सो रोगविरुद्ध औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिहेको छ ।

देशका ६१ जिल्ला हात्तीपाइले रोगबाट प्रभावित छन् । हालसम्म २० जिल्लामा औषधि सेवन कार्य पूरा भइसकेका छन् भने हिमाली १२ र पहाडी दुई जिल्लामा सो रोग जनस्वास्थ्यको समस्याका रुपमा देखिएको छैन । कुल जनसङ्ख्याको ९० प्रतिशतमा सो रोगको जोखिम हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले प्रक्षेपण गरेको छ ।

क्युलेक्स जातको पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेमा सो रोग लाग्ने गर्छ । ज्वरो आउनु र शरीरमा कम्पन हुनु,रक्तनली सुनिनु,पुरुषका अण्डकोष वरपर नसा फुल्नु,महिलामा यौनाङ्ग अथवा स्तन सुनिनु,पिसाब सेतो हुनु आदि सो रोगको लक्षण भएको महाशाखाका प्रमुखका निर्देशक डा बाबुराम मरासिनीले जानकारी दिए ।

उनले मुटु,मिर्गौला,दम जस्ता रोग लागेका,कुनै औषधि सेवन गरिरहेका,गर्भवतीबाहेक अन्यलाई निर्धक्क रुपमा औषधि सेवन गर्न आग्रह गर्दै खाना अथवा केही कुरा खाएर मात्र औषधि खान सल्लाह दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us