सुशीलले प्रचण्डलाई भने,‘हिमाल,पहाड,तराई सम्झेर जय नेपाल भन्नुस्’

काठमाण्डु टुडे २०७१ फागुन १९ गते १०:१८ मा प्रकाशित

cm-and-sushil-chitwan
चितवन,१९ फागुन– प्रधानमन्त्री सुशील कोइराला र विपक्षी गठबन्धन ३० दलीय मोर्चाको नेतृत्व गरिरहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मंगलबार एकै सभामा उभिएर छिट्टै सहमतिबाट संविधान जारी हुने उद्घोष गरेका छन् ।

पश्चिम चितवनको शिवनगरस्थित नारायणी विद्या मन्दिर उच्च माविको स्वर्ण महोत्सवको संयुक्त रुपमा उद्घाटन गरेपछि यसै क्षेत्रबाट निर्वाचित प्रधानमन्त्री कोइराला र यसै विद्यालयमा अध्ययन गरेका अध्यक्ष प्रचण्डले जनचाहनाअनुरुप छिट्टै दलहरुबीच सहमति भई संविधान बन्ने विश्वास दिलाएका हुन् ।

प्रधानमन्त्री कोइराला र अध्यक्ष दाहालबीच एउटै मञ्चमा झन्डै आधा घन्टा लामो अनौपचारिक कुराकानीपछि दुवैले छिट्टै सहमति हुने उद्घोष गरेका थिए । उनीहरुले काठमाण्डु फर्किएपछि वार्ता र संवादबाटै सहमति खोजेर संविधान बनाउने विश्वास पनि दिलाए ।

प्रधानमन्त्री कोइरालाले अध्यक्ष दाहाल र अध्यक्ष दाहालले कोइरालालाई सहमतिको वातावरण निर्माण गर्न एकअर्कासँग आग्रह गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री कोइरालाले जनताको चाहनाअनुरुपको संविधान जारी गर्न आन्दोलनरत दलहरुसँग छिट्टै सहमति हुने बताए ।

अध्यक्ष दाहालप्रति सङ्केत गर्दै उनले सहमतिका लागि धेरै दिन नलाग्ने पनि बताए । प्रधानमन्त्री कोइरालाले भने,अब मुलुकलाई विकास चाहिएको छ,त्यसका लागि शान्ति र संविधान जरुरी छ । पैतीस लाखभन्दा बढी युवा विदेशमा रहेको भन्दै उनले देशमा संविधान बनेसँगै शान्ति र विदेशी लगानी भित्रिने वातावरण बन्ने आशा व्यक्त गरे ।

कृषि,पर्यटन,सडकलगायतमा विदेशी लगानी बढे स्वदेशमै युवाले रोजगारी पाउने र देशको विकास हुने उनको भनाइ थियो ।
प्रधानमन्त्री कोइरालाले मञ्चमै रहेका अध्यक्ष प्रचण्डसँग अनुमति मागेर आफूसँगै तीनपटक जय नेपाल भन्न अनुरोध गरेका थिए । उनले भने, काँग्रेस भएर होइन हिमाल,पहाड र तराई सबै नेपालको जय होस् भनेर जय नेपाल भनेको हुँ ।
त्यस्तै कार्यक्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले केही दिनभित्रै दलहरुबीच संविधान निर्माणको विषयमा सहमति हुने कुरामा आफू विश्वस्त रहेको बताए । प्रधानमन्त्री कोइरालासँग मञ्चमा अनौपचारिक छलफल भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री पनि सकारात्मक देखिएकाले छिट्टै सहमति हुनेमा विश्वस्त रहेको बताए ।

राजनीतिक परिस्थिति जटिल रहेको भन्दै अध्यक्ष प्रचण्डले गाँठो फुकाउन सहमतिबाट संविधान निर्माण गर्नुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले काठमाण्डु फर्किएलगत्तै सत्ता पक्ष र विपक्षीहरुको बीचमा वार्ताको वातावरण बनाउन यस कार्यक्रमको महत्वपूर्ण भूमिका हुने बताए ।

गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री आफूलाई बनाउन यस विद्यालयको भूमिका रहेको भन्दै अध्यक्ष दाहालले विद्यालयको विकासका लागि आफ्नोतर्फबाट सहयोग पु¥याउने वचन दिए । सोही विद्यालयमा अध्यक्ष दाहालले कक्षा १० सम्म अध्ययन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us