पत्नी गुमाएका वीरेन्द्रलाई १ लाख १७ हजार सहयोग

काठमाण्डु टुडे २०७१ फागुन १९ गते ८:५७ मा प्रकाशित

parsa map
पर्सा,१९ फागुन– केहीदिन अघि सुत्केरी हुने क्रममा उपचारका अभावमा पत्नी गुमाएका स्थानीय वीरेन्द्र रोनियारलाई सहयोग गरिएको छ । पर्साको महुवन गाविसका स्थानीय रौनियारलाई मंगलबार परवर्तनका लागि युवा समुह र ट्विटर समुहले एक लाख १५ हजार सहयोग गरेका हुन् ।
वीरगन्जको घन्टाघरमा आयोजना गरिएको कार्यक्रममार्फत कान्तिपुर दैनिकका पर्सा संवाददाता शङ्कर आचार्यले उपलब्ध गराइएको सहयोग रकम वीरेन्द्रलाई प्रदान गरेका थिए ।

विभिन्न पत्रपत्रिकामा प्रकाशित भएको समाचारका आधारमा ट्विटर समूहका मिलन पुडासैनीको अगुवाइमा सङ्कलन गरिएको रकम प्रदान गरिएको आचार्यले बताए ।

कार्यक्रममा बोल्दै पत्रकार महासङ्घ पर्सा शाखाका सचिव कृष्णउदास खनालले पर्साको पत्रकारिताले अब पर्सामा कलम चलाउने पत्रकारहरुको वर्चस्व रहेको धारणा राखे । उनले पछिल्ला दिनमा पर्साको पत्रकारिता समाजसेवातर्फ अग्रसर हुनु पत्रकारिता जगत्का लागि गर्वको कुरा भएको बताए ।

पत्रकारहरुकै सहयोगका कारण आफू र आफ्ना बालबालिकाले पुनर्जीवन पाएको पीडित वीरेन्द्र रौनियारले बताए ।
यसैबीच,रौतहटको चन्द्रपुर नगरपालिकाका रिक्सा चालक केदारप्रसाद तिमल्सिनाले पनि वीरेन्द्रलाई दुई हजार प्रदान गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us