लगातारको झरीका कारण गोरखामा बिरामी बढे

काठमाण्डु टुडे २०७१ फागुन १९ गते ७:३० मा प्रकाशित

birami
गोरखा,१९ फागुन– विगत चार दिनदेखि लगातार परेको पानीले बढाएको चिसोसँगै गोरखामा बिरामी बढेका छन् । जिल्ला अस्पताल गोरखामा उपचार गराउन आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ ।

रुघाखोकी,ज्वरो,झाडापखाला,स्याँस्याँ हुने जस्ता बिरामी उपचारका लागि अस्पतालमा आएको डाक्टरले जनाएका छन् । अस्पतालका प्रवक्ता साहेवप्रसादका अनुसार विगत एक हप्ताको तुलनामा दिनहुँ बिरामी बढ्दै गएको पाइएको छ ।

गत फागुन ११ गते १२७ जना बिरामीले उपचार गराएका थिए । बिरामीको सङ्ख्या बढेर फागुन १७ गते १ सय ४८ पुगेको भन्दै उनले चिसो बढेसँगै बिरामीको सङ्ख्या बढेको जानकारी दिए ।

सोमबार बिहानैमात्र १ सय भन्दा बढी बिरामी उपचारका लागि अस्पताल आएका छन् । तीमध्ये अधिकांश बालबालिका र वृद्धवृद्धा रहेका छन् । स्वाइन फ्लुको त्राससँगै मान्छेहरु आफ्नो स्वास्थ्य जाँच गर्न अस्पताल पुगेका छन् ।

स्वाइन फ्लु र सामान्य रुघाखोकी लाग्दाका केही लक्षण मिल्दोजुल्दो हुन्छ,अस्पतालका मेडिकल अधिकृत शर्मिला प्रजापतिले भन्नुभयो, आकस्मिक कक्षमा पनि बिरामी बढेका छन् । दिनहुँ ३०÷४० जनाको हाराहारीमा बिरामीले स्वास्थ्य सेवा लिँदै आएको र अस्पतालमा वर्षा भएसँगै बिरामीको सङ्ख्या बढेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले मौसममा आएको परिवर्तनले मानिस बिरामी भएको बताए । सामान्य रुघाखोकीका बिरामी बढेका हुन् ,उनले भने,स्वास्थ्य जाँच गर्दै औषधि लिएर बिरामी फर्केका छन् । जिल्ला अस्पताल ५० शैया क्षमताको रहेको छ ।

दरबन्दी रहेका अधिकांश डाक्टर यहाँ नहुँदा र अस्पतालमा जटिल प्रकृतिका रोगको उपचार नहुँदा बिरामी मर्कामा परेका छन् । स्त्रीरोग,बालरोगसम्बन्धी शल्यक्रिया गर्ने डाक्टर नहुँदा बिरामी देशका ठूला सहरका अस्पताल जान बाध्य छन् ।

नयाँ डाक्टर आएपछि प्रसूति पीडाले छट्पटाएका तीन जना महिलाको शल्यक्रिया अस्पतालमै भएको अस्पताल स्रोतले जनायो । थप विशेषज्ञ डाक्टर र दरबन्दीमा रहेका डाक्टरलाई अस्पताल ल्याउन मन्त्रालयसँग समन्वय गरिएको अस्पताल प्रमुख देवकोटाको भनाइ छ ।

पन्ध्र शैयाबाट दुई वर्षअघि ५० शैयामा विस्तार भएको अस्पतालमा आवश्यक मात्रामा शैया,जनशक्ति नहुँदा बिरामीको चाप भएको बेला भुइँमा राखेर पनि उपचार गर्नुपर्ने बाध्यता छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us