नौ विस्थापित परिवारले पाए घर !

काठमाण्डु टुडे २०७१ फागुन १९ गते २:५२ मा प्रकाशित

 

चरिकोट, १९ फागुन – माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विस्थापित लामाबगर गाविस–४ का नौ परिवारले घर पाएका छन् । स्थानीय आफैँले बनाएको घरलाई आयोजनाले प्राविधिक मूल्याङ्कन गरी रकम भुक्तानी गरेको हो ।

स्थानीय दुई परिवारले पुरानै स्थानमा घर निर्माण गरेका छन् । आयोजनाले आफूलाई चाहिने घरको डिजाइन र निर्माणको जिम्मेवारी समेत स्थानीय आफैँलाई दिएको थियो । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सतमाया तामाङको घरको मूल्याङ्कन गरी रु १३ लाख ४७ हजार भुक्तानी गरिसकेको छ ।

अब बाँकी सबै परिवारलाई यही दरमा रकम भुक्तानी गरिने र घरको लागत रकम कम गरी निर्माण गरेमा बाँकी रकम तामाकोसी आयोजनाको अति प्रभावितवासीको ३०० कित्ता सेयरमा हालिदिने न्यौपानेले जानकारी दिए ।

आयोजनाको लागि सडक निर्माण गर्दा उनीहरूको पुरानो घर भत्केपछि छ वर्षदेखि उनीहरू ओडार र कटेरामा बस्दै आएका थिए । आठ वर्षदेखि सडक निर्माणका क्रममा विस्थापितलाई व्यवस्थापन गर्न नसके तापनि अब आउँदो केही महिनामम्म सबैको घरबासको समस्या समाधान हुने आयोजनाका प्रवक्ता न्यौपानेले बताए ।

माथिल्लो तामाकोसी आयोजनास्थल गोगरदेखि ड्याम साइड लामाबगरका लागि निर्माणाधीन सडकको छ्योतछ्योतका १६ परिवार तामाङ समुदाय विस्थापित भएका थिए । अरु परिवारले अन्यत्र व्यवस्था गरे तापनि नौ परिवारले अन्यत्र केही व्यवस्था गर्न नसक्दा पीडित हुँदै आएका थिए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us