स्वाइन फ्लु सङ्क्रमणप्रति उच्च सतर्कता अप्नाउदै सरकार

काठमाण्डु टुडे २०७१ फागुन १८ गते ८:१२ मा प्रकाशित

ministry of health.

काठमाण्डु,१८ फागुन– स्वाइन फ्लुको सङ्क्रमणका कारण राजधानीमा एक महिलाको निधन भएपछि सरकारले उच्च सतर्कता अप्नाउने भएको छ ।
सोही सिलसिलमा सोमबार स्वास्थ्यमन्त्री खगराज अधिकारीले स्वाइन फ्लुको सङ्क्रमण भएका बिरामीको प्रभावकारी उपचार गर्न र प्रगति विवरणबारे आफूलाई दैनिक विवरण उपलब्ध गराउन निर्देशन दिएका छन् ।

दम तथा निमोनियाबाट ग्रसित भई एक साताअघि मोडेल अस्पतालमा उपचाररत एक महिलाको आइतबार स्वाइन फ्लु सङ्क्रमणका कारण निधन भएको थियो ।
मन्त्री अधिकारीले सोमबार मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ,स्वास्थ्य सेवा विभाग,सम्बन्धित महाशाखामा प्रमुख,विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिलगायतलाई उपचार र रोकथामका कार्यमा कुनै कसर बाँकी नराख्न र आर्थिक र प्राविधिक अपुग भएमा माग गर्न अपिल समेत गरेका छन् ।

मन्त्री अधिकारीले निजी र सरकारी दुवै अस्पतालले सोसम्बन्धी बिरामीलाई प्राथमिकताका साथ भर्ना लिई उपचार गरेरनगरेको अनुगमन गर्न समेत कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चिकित्सा महाशाखा र मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस सम्बन्धमा दैनिक विवरण तयार पार्न निर्देशन दिएको मन्त्री अधिकारीका प्रेस संयोजक सुदन ज्ञवालीले जानकारी दिएका छन् ।

पछिल्लो समयमा देशभर स्वाइन फ्लुबाट सङ्क्रमित हुनेको सङ्ख्या १५ जनाभन्दा बढी भएको अनुमान गरिएको छ ।

विभागले नेपाल भित्रिने भारतीय नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानीका लागि हेल्थ डेस्कसमेत स्थापना गरेको छ । साथै आफू मातहतका सबै अस्पताललाई छुट्टै बिरामी राख्ने कोठाको व्यवस्था गर्न निर्देशन दिइसकेको छ ।

साधारण रुघाखोकी,नाकबाट पानी आउनु,हाच्छिउँ आइरहनु,ज्वरो आउनु,टाउको एवम् घाँटी दुख्नु, छाती दुख्नु,वाकवाकी लाग्नुजस्ता लक्षण सो रोगमा देखिने विज्ञहरूले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us