विस्थापित माझी परिवार अस्थाई टहरामा बस्न बाध्य

काठमाण्डु टुडे २०७१ फागुन १८ गते ७:१३ मा प्रकाशित

baglung_map
बागलुङ,१८ फागुन– सडकले विस्थापित बनेका सीमान्तकृत माझी समुदाय कष्टकर जीवन बिताउन बाध्य छन् । बागलुङ–पोखरा सडक खन्ने क्रममा २०४६ सालमा थातथलो गुमाएका माझीहरु अस्थायी घर–टहरामा दैनिकी गुजार्न बाध्य भएका हुन् ।
बागलुङ नगरपालिकाले दशकअघि माझी समुदायलाई व्यवस्थापन गर्न बनाएको कार्यक्रम नै अलपत्र परेको छ ।

बागलुङ नगरपालिका–१ को गणेश घुम्तीबाट विस्थापित १४ माझी परिवारको पुनःस्थापना कार्य वर्षौंसम्म पूरा हुन नसकेको हो ।
स्थानीय बाङ्गेचौर खेलमैदानको छेउमा स–साना घर,टहरामा दयनीय अवस्थामा बसेका माझीहरुलाई पुनःस्थापना बागलुङ नगरपालिकाले माझी बस्ती व्यवस्थापनका लागि कार्यक्रम र बजेट बनाएपनि कार्यान्वयन हुन नसक्दा उनीहरुको भविष्य अन्यौल बन्न पुगेको छ ।

नगरपालिकाले जग्गासहित घर उपलब्ध गराउने योजना अघि सारेको थियो । “नगरपालिकाले बस्ती व्यवस्थावन गर्ने भनेर सँधै भन्ने गर्छ,तर त्यो अझै हुन सकेको छैन,जग्गासहित आवास दिने भनेको स्थानीय कृष्ण माझीले बताए ।

नगरपालिकाले जग्गासहित बासस्थानको व्यवस्थापन गर्न ‘माझी बस्ती व्यवस्थापन’परियोजना नै बनाएको थियो । जग्गाको समस्याका कारण व्यवस्थापन कार्य अघि बढ्न नसकेको नगरपालिकाले जनाएको छ । बागलुङ नगरपालिका–१ खनियाघाटमा ‘पुनर्वास कार्यक्रम’ सञ्चालन गर्न नगरपालिकाले २१ आना जग्गा खरिद गरिसकेको छ ।

बस्ती व्यवस्थापनका लागि ५४ आना आवश्यक पर्ने भएपछि जग्गा अभावले परियोजना रोकिएको हो । बस्ती व्यवस्थापनका लागि नगरपालिकाले नौ लाख ४० हजारको जग्गा खरिदेको थियो । केही व्यक्तिले जग्गा दिने कबुल गरेर पछि नदिएपछि व्यवस्थापन कार्य अवरुद्ध बनेको नगरपालिकाका कार्यकारी अधिकृत जगन्नाथ लामिछानेले बताए ।

जग्गा अभावकै कारण माझी बस्ती व्यवस्थापनमा ढिलाइ भएको अधिकृत लामिछानेको भनाइ छ । जग्गा दिन सहमत स्थानीय निर्णयबाट पछाडि हटेपछि समस्या सिर्जिएको बताइएको छ । माझी बस्ती व्यवस्थापनको काम अघि बढाउँछौँ, जग्गाको व्यवस्था हुनासाथ सबैलाई जग्गा प्रदान गरेर आवास निर्माणका लागि अन्य निकायसँग समन्वय गर्छौं, लामिछानेले बताए ।

नगरपालिकाले आवास निर्माणमा दाताहरुलाई सहयोगको आग्रहसमेत गर्ने भएको छ । सोही स्थानमा थप जग्गा खरिद र व्यवस्थापनका लागि नगरपालिकाले पहल अघि बढाएको छ । जग्गाकै कारण व्यवस्थापन योजना अलपत्र परेको हो,सबै काम अघि बढ्दै थियो,योजना कार्यान्वयनका लागि फेरि काम अघि बढ्दैछ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले बताए ।

जग्गा मिलेपछि १४ माझी परिवारलाई तीन÷तीन आनाका दरले जग्गा दिने नगरपालिकाको तयारी छ । आफ्नो पुनर्वासका लागि नगरपालिकाले जग्गा किनेको खबरले खुसी बनेका माझी परिवार व्यवस्थापन योजना अलपत्र परेपछि निरास छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us