देशका सबै रङ नदेख्ने कांग्रेस–एमालेले आँखाको अप्रेसन गर्नुपर्छ : भट्टराई

काठमाण्डु टुडे २०७१ फागुन १६ गते ११:०१ मा प्रकाशित

baburam bharttarai

काठमाण्डु, १६ फागुन– एमाओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल संप्तरंगी देश भएका कारण यहाँ सबै रंगको पहिचान हुनुपर्ने बताएका छन् ।

एमाओवादी मोर्चाले काठमाण्डुको खुल्लामञ्चमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता भट्टराईले सप्तरंगी नेपालमा एउटामात्र रंग देख्ने कांग्रेस–एमालेका आखाको अप्रेसन गर्नुपर्ने बताएका छन् ।

‘यो खवरदारी सभा भएको हुँदा हामीले यहीबाट कांग्रेस एमालेलाई राष्ट्रिय रंग देखाउन चाहान्छौं नेपालको असली पहिचान देखाउन चाहन्छौं’ भट्टराइले भने ।

परिवर्तनका पक्षधरहरु दोस्रो संविधानसभा पराजित भएको र उनीहरु सकिएको भन्ने हल्लालाई संकेत गर्दै नेता भट्टराइले भने, ‘हात्ती दुब्लाए पनि हात्ती नै हुन्छ मुसो हुँदैन, बाध दुब्लाए पनि बाघ नै हुन्छ बिरालो हुँदैन । परिवर्तन पक्षघरहरु त्यही बाघ हुन र फेरि उठेर आएका छन् ।’ उनले परिवर्तनका पक्षधरलाई बिरालो सोच्ने गल्ती नगर्न कांग्रेस–एमालेलाई चेतावनी दिए ।

माओवादी र मधेसवादीले शान्ति र विकास हुन नदिएको आम जनतामा फैलाएको हल्लालाई चिर्दै नेता भट्टराइले भने, ‘असली विकासका पक्षपाती माओवादी र पहिचानवादी नै हुन् । सत्तामा डाडुपन्युँ लिएर जनतामा शोषण त कांग्रेस–एमालेले गरिरहेका छन् ।

कांग्रेस एमालेले प्रक्रियाका नाममा संविधानसभालाई अपहरण गरेको र त्यही कारणले संविधान बन्न ढिलाइ भएको उनको भनाइ थियो ।

बाघ बुढो भए पनि घाँस खादैन भन्दै नेता भट्टराईले क्रान्तिकारी जनताले सम्झौता नगर्न र अधिकारका लागि निरन्तर संघर्ष गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us