खाडी मुलुकमा जाने नेपालीहरु किन दुःख पाउँछन् ?

काठमाण्डु टुडे २०७१ फागुन १५ गते १४:२२ मा प्रकाशित

nepali-workers
इटहरी,१५ फागुन– नेपालमा च्याउ सरी सञ्चालनमा आएका अवैध र गैरकानुनी मेनपावर कम्पनीका कारण वैदेशिक रोजगारका लागि आफ्नो देश छोडी विभिन्न खाडी मुलुकमा प्रवेश गर्ने नेपाली कामदारहरूले दुख पाइरहेको सन्दर्भलाई केन्द्रीत गर्दै शुक्रबार एक कार्यक्रमको आयोजना गरियो ।

इटहरीमा आयोजित अभिमुखीकरण कार्यक्रममा वैदेशिक रोजगारमा जाने नेपालीहरुले दुःख भोग्नुका कारणहरुबारे बहसहरु भए ।

इटहरीस्थित युवा स्वरोजगार तालिम केन्द्रको भवनमा सम्पन्न सुरक्षित आप्रवासनसम्बन्धी पत्रकारलाई दिइएको दुईदिने अभिमुखीकरण तालिममा उपस्थित सञ्चारकर्मी तथा अभियानकर्मीहरूले यी विषयमा चर्को बहस गरे ।

वैदेशिक रोजगारलाई सुरक्षित तथा उपलब्धिमुलक बनाउने उद्देश्यले सम्पन्न गरिएको दुई दिने अभिमुखीकरण तालिममा अधिकांश अभियानकर्मीले नेपाल सरकारको फितलो अनुसन्धान र कानुन हुँदा त्यसको कार्यान्वयन गर्न नसक्नुले वैदेशिक रोजगार नेपालीहरूका लागि असुरक्षित बनेको बताइएको थियो ।

वैदेशिक रोजगारलाई सुरक्षित बनाउन अवैध वैदेशिक रोजगार कम्पनीलाई सरोकारवालाले कारबाहीको दायरामा ल्याउन सक्नुपर्ने र सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्दा पीडित पक्षले न्याय पाउने गरी काम गर्न सक्नुपर्ने तथा निरन्तर सरोकारवालालाई झक्झकाइरहनुपर्ने कार्यक्रममा जोड दिइएको थियो ।

कार्यक्रममा सुरक्षित आप्रवासन परियोजनाका सहकर्मी दिनेश रेग्मी,सञ्चारकर्मी याम प्रधान,नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष बेदराज पौडेलल गायतले सुरक्षित आप्रवासनसम्बन्धी आ–आफ्नो दृष्टिकोण राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us