नेपाली चेली बेच्ने भारतीय पक्राउ

काठमाण्डु टुडे २०७१ फागुन १५ गते ६:२१ मा प्रकाशित

pakrau-arrestचितवन, १५ फागुन– नेपालमा मानव तस्कर गर्दै आएको आरोप लागेका एक जना भारतीय नागरिक चितवनको सौराहाबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई पक्राउ गरी अहिले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रत्ननगरमा राखिएको छ । गएराति पक्राउ गरेका उनीसँगैका अन्य भने फरार छन् ।

प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले आवश्यक अनुसन्धान भइरहेकाले अनुसन्धान पूरा गरेपछि मात्रै घटनाबारे सार्वजनिक गर्ने बताए ।

प्रहरी स्रोतका अनुसार उनकै नेतृत्वमा अन्य चार नेपाली संलग्न भई मानव बेचबिखन गर्ने गरेको र उनीहरु फरार रहेकाले खोजी भइरहेको छ ।

उनकै नेतृत्वमा विभिन्न जागिरको प्रलोभन देखाई नेपाली चेलीहरुलाई भारत लैजाँदै गरेको अवस्थामा हिजो भैरहवा नाकाबाट पाँच जनालाई उद्धार गरेको प्रहरीको भनाइ छ । प्रहरीले ती व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन ।

उनले जिप रिजर्भ गरी सुनौली नाकाबाट चेलीहरुलाई कटाउन खोज्दा हिजो चेलीको उद्धार भएको र ती व्यक्ति फरार हुन सफल भएका थिए । उनी त्यहाँबाट फरार भई सौराहाको एक होटलमा बस्न आइपुगेको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us