भातृ संगठनको विवाद मिलाउ बस्यो कांग्रेसको बैठक

काठमाण्डु टुडे २०७१ फागुन १३ गते ५:१० मा प्रकाशित

BP_smriti_bhawan_Nepali_congressकाठमाण्डु, १३ फागुन– नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको छ ।

बिहान ८ बजेका लागि बोलाइएको केन्द्रीय समितिको चौथो बैठक करिब डेढ घन्टापछि मात्र सुरु भएको हो ।

बैठकमा पार्टीको अनुशासन समितिको निर्णयउपर परेका पुनरावेदन, भ्रातृ संस्थाहरू, नेपाल तरुण दल, नेपाल महिला सङ्घ र नेपाल विद्यार्थी सङ्घको केन्द्रीय महाधिवेशन, संविधान निर्माण र दलहरूको बीचमा भइरहेको वार्ताबारे र विविध शीर्षकमा छलफल भई आवश्यक निर्णय लिइने काँग्रेसले जनाएको छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको सभापतित्वमा जारी बैठकमा पार्टीका सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ ।

यसअघि गत सोमबार बसेको तेस्रो केन्द्रीय समिति बैठकले बैठकमा बोल्ने अधिकांश पदाधिकारी तथा केन्द्रीय सदस्यले सहमतिमा संविधान जारी गर्न विभिन्न दलसँग भएका वार्ता र संवादका लागि पहल गर्नुपर्ने धारणा राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us