कारागारभित्र खानेपानी अभाव, कैदीबन्दी विरामी

काठमाण्डु टुडे २०७१ फागुन १३ गते १:१३ मा प्रकाशित

गोरखा, १३ फागुन– क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेको गोरखा जिल्ला कारागारभित्र खानेपानीको अभाव भएको छ ।

दिनहुँ १० हजार लिटर पानी आवश्यक रहेको कारागारमा जम्मा दुई हजार लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । पानीको मुहान र भण्डारण गर्ने ट्याङ्की नहुँदा पानी सङ्कलन गरेर वितरण गर्न नपाएको जानकारी कारागारका शाखा अधिकृत मोहनबहादुर थापाले दिए ।

jail

कारागारभित्र ११७ जना कैदीबन्दी छन् । त्यसमध्ये १३ जना महिला छन् । कारागारभित्र महिला र पुरुष बन्दी कक्ष छुट्टाछुट्टै छ । पुरुष कक्षभित्र चार वटा शौचालय छ । ‘बिहानपख शौचालय जान पालो कुर्नुपर्ने अवस्था छ’ जेलर थापाले भने, ‘एक सय चार जनाले चार वटा शौचालय प्रयोग गर्नुपर्दा कैदीबन्दी समस्यामा छन् ।’ ‘घ’ वर्गको गोरखा जिल्ला कारागार ५५ जना कैदीबन्दी क्षमताको हो ।
क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको थापाले बताउँछन् । ‘सोमबार एक कैदीबन्दी बिरामी भएका थिए’ उनले भने, ‘मङ्गलबार दुई जना बिरामी भए । उनीहरुलाई झाडापखाला लागेको रहेछ । तीमध्ये एकजना गोरखा जिल्ला अस्पतालमा उपचाररत छन् । अर्का एक उपचारपछि कारागार फर्किएका छन् ।’
दूषित खानेपानीको कारणले उनीहरुलाई झाडापखाला लागेको हुनसक्ने उनको अनुमान छ ।
साथै कारागार भवन जीर्ण हुँदा भूकम्प आउँदा भत्कने खतरा बढेको छ । कारागारभित्र रहेको गाह्रोहरु चर्केकाले जुनसुकै बेला पनि भत्कन सक्ने अवस्था रहेको छ । जीर्ण भवन मर्मत र खानेपानीको समस्या समाधान गर्न आवश्यक बजेट प्राप्त नहुँदा समस्या झन् थपिँदै गएको थापाले बताए। रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us