अधिकृत र सहायक अधिकृत परे अख्तियारको फन्दामा

काठमाण्डु टुडे २०७१ फागुन १२ गते ९:११ मा प्रकाशित

बागलुङ, १२ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डुको टोलीले घुस लिँदै गर्दा जिल्ला कार्यालय बागलुङका जिल्ला वन अधिकृत र सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

फर्निचर व्यवसायीसँग दुईजनाले २५/२५ हजार घुस लिँदै गर्दा बागलुङको एक होटलबाट सोमबार राति जिल्ला वन कार्यालयका जिल्ला वन अधिकृत सरोजकुमार पाण्डे र इलाका वन कार्यालय बागलुङका सहायक वन अधिकृत टीकाराम पन्थलाई रङ्गेहात नियन्त्रणमा लिएको हो ।

money

फर्निचर व्यवसायीसँग पैसा लिँदै गरेको लिखित सूचनाका आधारमा दुवैजनालाई नियन्त्रणमा लिइएको अख्तियारका प्रहरी निरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

अख्तियारले छापा मार्दा दुवैजना मदिरा सेवन गरेको अवस्थामा फेला परेका थिए । रङ्गेहात पक्राउ परेका दुवैजनालाई पत्रकारको रोहबरमा खानतलासी गरिएको थियो । खानतलासीका क्रममा पाण्डेसँग रकम भेटिए पनि पन्थसँग भेटिएको थिएन ।

पन्थले अख्तियार आएको चाल पाएपछि आफ्नो खल्तीमा जबर्जस्ती रकम हालिदिएको रिजालले बताए।

पटक–पटक फर्निचर व्यवसायीसँग रकम असुल्नका लागि दुःख दिन थालेपछि अख्तियारलाई गुहार्नुपरेको फर्निचर व्यवसायी सङ्घका अध्यक्ष डम्बर सापकोटाले बताए।

आरोपी दुवैजनाबाट नियन्त्रणमा लिइएको ५० हजार र अख्तियारमा निवेदनमा पर्न गएको नोटको नम्बर मिल्न गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us