सिमराको आन्दोलन स्थगित, वीरगन्ज, पथलैया सडकखण्ड सुचारु

काठमाण्डु टुडे २०७१ फागुन १२ गते ८:३७ मा प्रकाशित

simara_20150224085016पर्सा, १२ फागुन– बाराको सिमरामा मालपोत र नापी कार्यालयको सेवा केन्द्र स्थापनाको माग राखेर फागुन ८ गतेदेखि थालिएको अनिश्चितकालीन आमहडताल र राजमार्ग अवरुद्ध पार्ने कार्यक्रम मंगलबार बिहानदेखि स्थगित भएको छ ।

सिमरामा गएराति अबेरसम्म बसेको मालपोत कार्यालय सिमरा स्थापना सरोकार समिति र राजनीतिक दलका नेताहरु सहभागी बैठकले अनिश्चितकालीन आम हडताल र राजमार्ग अवरुद्ध पार्ने कार्यक्रम स्थगन गर्ने निर्णय गरेको समितिका सदस्य कृष्ण पौडलले जानकारी दिए ।

सरकारले वार्ता र संवादमार्फत समस्या सामधान गर्न आग्रह गरेकाले आमअडताल र चक्काजामको कार्यक्रम स्थगन गरिएको सरोकार समितिका संयोजक भोला अधिकारीले बताए । सिमराको होटल पाराडाइजमा राखिएको बैठकले सिमरामा जारी आन्दोलन हिंस्रक र अराजक बन्दै गएको तथा प्रहरी प्रशासनले स्थानीयवासीमाथि दमन गरेको ठहर गर्दै आफ्ना माग पूरा गर्न आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण दबाबमूलक कार्यक्रममात्र गर्ने निर्णय गरेको समितिका सदस्य पौडेलले बताए ।

उनका अनुसार माग पूरा गराउन दबाब दिन तत्कालै एक टोली प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन काठमाडौँ जाने निर्णय पनि भएको छ । सरोकार समितिका संयोजक भोला अधिकारीको अध्यक्षतामा बसेको बैठकले गरेको आन्दोलन स्थगित गर्ने निर्णयपत्रमा संयोजक अधिकारीसँगै काँग्रेसका छविलाल पौडेल, एमालेका कृष्ण खनाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका राधादेवी साह, राप्रपा नेपालका सुरज लम्साल र राष्ट्रिय जनमोर्चाका कर्ण थापाले हस्ताक्षर गरेका छन् ।

सिमरामा मालपोत र नापी कार्यालय स्थापना गर्ने सरकारको निर्णयविरुद्ध सदरमुकाम कलैयामा चर्को आन्दोलन भएपछि सरकारले निर्णय फिर्ता लिएसँगै फागुन ३ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका सिमराका बासिन्दाले फागुन ८ गतेदेखि भने अनिश्चितकालीन आम हडताल र राजमार्ग अवरुद्ध पार्दै आएका थिए ।

सरोकार समितिले आमहडताल र चक्काजामको कार्यक्रम स्थगन गरेसँगै सिमराको जनजीवन मंगलबार बिहानदेखि सामान्य बन्दै गएको छ । आन्दोलन स्थगित भएलगत्तै वीरगन्ज–पथलैया सडकखण्डमा सवारी साधन पनि सञ्चालनमा आएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us