पुँजीगत खर्च ९३ प्रतिशत हुने सरकारको अनुमान

काठमाण्डु टुडे २०७१ फागुन ११ गते १३:४९ मा प्रकाशित

ministry of finance(1)(1)

काठमाण्डु,११ फागुन– सरकारले चालु आर्थिक वर्षमा कुल विनियोजनको ९३ प्रतिशत पूँजीगत खर्च हुने अनुमान गरेको छ । अर्थ मन्त्रालयले सोमबार चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा सार्वजनिक गर्दै पुस मसान्तसम्म बजेट विनियोजनको तुलनामा खर्च भने अपेक्षित हुन नसके पनि गत वर्षको तुलनामा भने वृद्धि हुने उल्लेख गरेको छ ।

अर्थमन्त्री रामशरण महतका अनुसार हालसम्म पूँजीगत खर्चमा त्यति उत्साहजनक नभएपनि ठूला पूर्वाधारको ठेक्कापट्टा भई काम सुरु भएको,निर्माणका लागि मौसमी अवस्था अनुकूल हुन सुरु भएको र विगतको प्रवृत्तिका आधारमा आगामी छ महिनामा त्यस्तो खर्च बढ्नेछ ।

यस आवमा कुल पाँच खर्ब ५८ अर्ब ४३ करोड १३ लाख खर्च हुनेछ,यो कुल विनियोजनको ९२.६३ प्रतिशत हो भने गत आवको यथार्थ खर्चभन्दा २८.५५ प्रतिशतले बढी हो ।

त्यसैगरी अर्ध वार्षिक अवधिसम्म कूल एक खर्ब ६१ अर्ब ८४ करोड ४० लाख मात्र खर्च हुन सकेको छ । जुन कुल विनियोजनको २६.२० प्रतिशत मात्र हो । चालुतर्फ विनियोजनको ३०.९५ प्रतिशत,पूँजीतर्फ १२.६० प्रतिशत र वित्तीय व्यवस्थातर्फ २३.१९ प्रतिशत खर्च भएको छ ।

विभिन्न मन्त्रालयले बजेट स्वीकृत भएपछि मात्र कार्यक्रम बनाउने प्रवृत्तिका कारण पूँजीगत खर्च बढ्न नसकेको बताउँदै अर्थमन्त्री महतले स्वीकृत योजनालाई सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
उनले राष्ट्रिय आयमा सबैभन्दा बढी योगदान दिने कृषि क्षेत्रमा मौसमको प्रतिकूल प्रभाव परेकाले अपेक्षित आर्थिक वृद्धि हुन नसक्ने देखिएको बताउँदै उद्योग र सेवा क्षेत्रको वृद्धि दर र हिउँदेबालीको अनुकूलताले समग्र आर्थिक वृद्धिदर गत आवकै हाराहारी भएको बताए ।

अर्थमन्त्री महतले पहिलोपटक लगातार दोस्रो वर्ष ५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने प्रक्षेपण गरे ।

उनले समयमै बजेट पारित भएका,बन्द हडतालजस्ता क्रियाकलापमा कमी आएको र उद्योग तथा सेवा क्षेत्र विस्तार अर्थतन्त्रको संरचनात्मक पक्षमा सुधार भएकाले उद्योग र सेवा क्षेत्रको वृद्धिदर अनुकूल देखिएको जानकारी दिए ।

चालु आवमा मुद्रास्फीति दर ८ प्रतिशत रहने अनुमान गरिकोमा अर्ध वार्षिक अवधिसम्मको औसत मुद्रास्फीति ७।३ प्रतिशत रही वार्षिक औसत मुद्रास्फीति लक्ष्यभन्दा कम रहने देखिएको बताउँदै उनले खाद्य र गैर खाद्य दुवै समूहको मुद्रास्फीति गत आवभन्दा कम रहेको उल्लेख गरे ।

विगत केही वर्षदेखि बढ्दै गएको व्यापार घाटा चालु आवमा पनि उच्चदरमा रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले समीक्षा अवधिसम्म तीन खर्ब ४४ अर्ब ८३ करोडको व्यापार घाटा भएको जानकारी दिए ।
समीक्षा अवधिमा राजस्वको लक्ष्य रु एक खर्ब ८५ अर्ब ४८ करोड ३३ लाख रहेकामा १०२।७२ प्रतिशत असुली भएको छ । यो असुली राजस्वको वार्षिक लक्ष्यको ४५।०५ प्रतिशत हो । राजस्व असुलीमा १६.५७ प्रतिशतको वृद्धि हासिल भएको छ ।

वैदेशिक सहायतातर्फ यस अवधिमा मात्र दुई खर्ब १७ अर्ब ६७ करोडको प्रतिबद्धता पास भई ऐतिहासिक रेकर्ड कायम भएको उल्लेख गर्दै अर्थमन्त्री महतले उक्त वृद्धिले वर्तमान सरकार गठन भएपछि दातृसंस्था र दातृराष्ट्रले नेपालीप्रति विश्वास बढाएको दाबी गरे ।

उनले बजेट वक्तव्यमा उल्लेख भएका नीति तथा कानुनी परिमार्जनको काम अगाडि बढेको र केही कानुन व्यवस्थापिका–संसदको आगामी अधिवेशनमा पेस गर्ने तयारी रहेको बताए ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले विभिन्न मन्त्रालयले कार्यक्रम स्वीकृतिका लागि ढिलाइ गरेकाले पूँजीगत खर्च हुन नसकेको धारणा राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us