कांग्रेस केन्द्रीय सदस्यहरुले भने, ‘हामी एमालेको पिछालग्गुजस्तो भयौँ’

काठमाण्डु टुडे २०७१ फागुन ११ गते १२:४३ मा प्रकाशित

BP_smriti_bhawan_Nepali_congressकाठमाण्डु, ११ फागुन– सत्तारुढ दल कांग्रेसभित्र संविधान निर्माणमा नेतृत्वदायी भूमिका नखेलेको भन्दै पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालको कडा आलोचना भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सबैभन्दा ठूलो दलका नाताले संविधान निर्माणमा नेतृत्वदायी भूमिका नखेलेको भन्दै सदस्यले पार्टी नेतृत्वको आलोचना गरेका हुन् ।

सबैभन्दा ठूलो दल बनेर सरकार समेत सञ्चालनमा रहेको दलले संविधान निर्माण नहुनुको दोष बिपक्षी एकीकृत माओवादीलाई दिएर आफू उम्किन खोज्नुले नेतृत्व गैरजिम्मेवार भएको देखिएको बताए ।

सरकारको नेतृत्व गरेको र सबैभन्दा ठूलो दलको नाताले पनि सबैलाई मिलाउने जिम्मा कांग्रेसको भएको केन्द्रीय सदस्यहरुको धारणा रहेको थियो ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरुले एमाओवादी सहितको मोर्चासँग फागुन १६ गतेको सभा अगाडि नै वार्ता गर्नुपर्नेमा जोड दिएको पार्टी प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिए ।

उनीहरुले सहमतिकै आधारमा संविधान निर्माको कामलाई अगाडि बढाउने नेतृत्वको ध्यानकर्षण समेत गरेका थिए ।

उनीहरुले कांग्रेस सबैभन्दा ठूलो पार्टी र सरकारको नेतृत्व गरिरहेको भए पनि एमाले र यसका नेता केपी ओलीका अगाडि कांग्रेस र सभापति सुशील कोइराला एमालेको पिछलग्गुजस्तो देखिएको र यसले कार्यकर्तामा नराम्रो सन्देश गएको भन्दै नेतृत्वको क्षमतामा प्रश्न उठाएका थिए ।

बैठकमा देउवा पक्षीय केन्द्रीय सदस्यले सरकारका कामकारबाहीको चर्को आलोचना गरेका छन् । उनीहरुले खाना पकाउने ग्यासको चरम अभाव, दिनहुँ बढ्दो भ्रष्टाचार लगायतका कारण आफूहरुलाई सरकारको नेतृत्व कांग्रेसले गरिरहेको छ भन्न समेत लाज लागेको धारणा राखेको बैठकमा सहभागि केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us