गगन थापा भन्छन्, ‘केही नेताको छुद्र स्वार्थ सहमतिको बाधक बनेको छ’

काठमाण्डु टुडे २०७१ फागुन ११ गते १०:५९ मा प्रकाशित

Gagan-Thapaकाठमाण्डु, ११ फागुन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केही नेताको छुद्र स्वार्थ सहमतिको बाधक भइरहेको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै त्यस्ता नेतालाई भविष्यमा आफ्नो हैसियत के हुने भन्ने पीडाले सशंकित बनाएकाले सहमति बन्न नदिने खेलमा लागेको बताए ।

‘संविधानको अन्र्तवस्तुमा खासै विवाद छैन, संघीयताको विवादमा पनि सहमति बनाउन सकिन्छ,’ थापाले कडा शब्दमा भने, ‘अहिलेको बखेडा केही नेताको छुद्र स्वार्थको परिणाम हो ।’ थापाले छुद्र स्वार्थ देखाउने को हो स्पष्ट नपारे पनि एमाओवादीलगायत विपक्षी मोर्चाका प्रभावशाली नेताहरुतर्फ संकेत गरेका थिए । उनले कसैको व्यक्तिगत स्वार्थको लागि देश अनिर्णयको बन्दी बन्न नसक्ने भन्दै सहमतिका विरोधीहरुले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।
सत्तापक्ष र विपक्षी मोर्चा दुवै आ–आफ्ना स्वार्थलाई थाती राखेर तत्काल सहमति बनाउनुको विकल्प नभएको उनले बताए । प्रमुख राजनीतिक दलहरुबीच विवादित भनिएका संविधानका अन्तर्वस्तुमध्ये संघीयताबाहेक अन्य विषयमा विवादै नभएको भन्दै अनावश्यक बखेडा गर्नुले शंका जन्माएको बताए । उनले भने,‘फागुन १६ अगावै सहमति गर्न दलहरु गम्भीर नभए देश भड्खालोमा फस्छ ।’ संघीयताको विषयलाई टुँगोमा पु¥याउन तत्काल सार्थक सम्वाद तथा समझादारी हुनुपर्नेमा जोड दिए ।

थापाले दुवै पक्षले अघि सारेका साझा अवाधारणमा आधारित भएर फेरि पनि छलफल गर्ने हो भने समस्याको समाधान नहुने तर्क गरे । उनले भने,‘कांग्रेस, एमाले र राप्रपाले अघि सारेको नौ बुँदे र एमाओवादी नेतृत्वको मोर्चाले अघि सारेको नौ बुँदे अवधारणा दुवैमा जतिवर्ष छलफल गरेपनि निश्कर्ष निस्कदैन, त्यसैले अब सिधा संविधानका अन्तर्वस्तुमा छलफल गर्नुपर्छ ।’

थापाले एमाओवादी नेतृत्वको मोर्चाले काँग्रेस र एमालेले ०४७ सालकै संविधान जारी गर्न लागे भन्नु र राप्रपा नेपालले कांग्रेस र एमालेले ०४७ सालको संविधान जारी गर्न दिएनन् भन्ने एउटै विषयका बारेमा फरक– फरक आरोप लगाएको उल्लेख गर्दै एउटै विषयमा लगाएका फरक फरक आरोपमा एकरुपता हुनै नसक्ने भन्दै आफूहरु कुनै पनि हालतमा पछि नफर्कने स्पष्ट पारे ।

उनले भने,‘०४७ सालको संविधान जारी गर्ने त अर्कै कुरा हामीले प्रश्नावली प्रस्ताव समितिमा पहिल्यै नै सहमति भैसकेका गणतन्त्र, धर्मनिरपेक्षताजस्ता विषयलाई प्रश्नमा समेत राख्न नहुने भनेका छौं, त्यसलै हामी आन्दोलनले प्राप्त गरेका उपलब्धिबाट किमार्थ पछि हट्नै सक्दैनौ ।’

उनले राज्यको पूर्नसंरचनावारे देखिएको विवादलाई हल गर्न थुपै्र विकल्पहरु रहेको उल्लेख गरे । थापाले संघीयताको सवालमा पनि दलहरुवीच संख्यामा, नामांकनको नभएर सीमांकनमा विवाद देखिएको भन्दै त्यसलाई कसरी हल गर्ने भन्नेबारेमा सबै दलहरुले सघन छलफल गर्नुपर्ने सुझाव दिए ।

उनले भने–‘समस्याको समाधान नै नुहने हो भने विवादित प्रदेशलाई हाललाई केन्द्रमा राखेर विस्तारै प्रदेशमा गाभ्दा पनि हुन्छ, जिल्लाको सीमानाहरुलाई तोड्दा पनि हुन्छ, जे गर्दा भोलिसम्म पनि राम्रो र भरपर्दो हुन्छ त्यही गर्नुपर्छ ।’ उनले सत्तापक्ष र विपक्षी दुवैले अघि सारेको संघीयताको वारेमा विशेष तर्क र तथ्य नभएको आरोप लगाउँदै भावना बोकेर संघीयता हुनै नसक्ने गुनासो पोखे ।

राजनीतिक परिवर्तनमा एक भएर सहभागी भएको भन्दै प्रमुख राजनीतिक शक्तिहरु कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी दलहरु उभिने ठाउँ अहिले पनि एउटै भएको दाबी गरे । यद्यपि थापाले संवादहिनतामा पुगेको राजनीतिलाई संवादमा ल्याउन आफ्नो पार्टीका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले पहल गरेको भन्दै अझै पनि विगतका सबै तिक्तता त्यागेर वार्तामा बसे समस्याको हल हुने विश्वास व्यक्त गरे । उनले भने,‘एकले अर्कोकाबारेमा आक्रोश पोख्ने, मनका कुण्ठाहरु पोख्नेभन्दा पनि अब सार्थक वार्ताका लागि सबैले खुल्ला हृदयले टेबुलमा बस्नुपर्छ ।’

एक फरक प्रसंगमा नेता थापाले एमाओवादी अध्यक्ष प्रचण्डको सुरक्षा बारेमा सरकार अत्यन्तै चनाखो भएको बताउँदै थप सुरक्षा दिन तयार रहेको बताए । उनले भने, ‘प्रचण्ड भनेको देशको प्रधानमन्त्री भैसक्नुभएको नेता हो, आन्दोनलको नेता हो त्यसैले उहाँको सुरक्षामा सरकार संवेदशनील हुन्छ तर उहाँले पनि सरकारसँग को–अपरेट गर्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us