नेपालमा खस्कदै इन्जिनियरिङ शिक्षाको गुणस्तर

काठमाण्डु टुडे २०७१ फागुन ११ गते १०:५३ मा प्रकाशित

pulchok
काठमाण्डु,११ फागुन– मुलुकको विकास र आर्थिक सम्बृद्धिका लागि भौतिक पूर्वाधारलाई मेरुदन्डको रुपमा लिइन्छ । त्यस्ता पूर्वाधार खडा गर्ने जनशक्ति भनेका इन्जिनियरिङ क्षेत्रका दक्ष प्राविधिकहरुनै हुन् । ती प्राविधिक जनशक्तिहरु गुणस्तरीय भएनन् भने मुलुकको विकास गुणस्तर र दिगो हुँदैन,तर विडम्बना दक्ष जनशक्तिको अभाव बढ्दैछ,इन्जिनियरिङ शिक्षा गुणस्तरहीन बन्दै गएको छ ।

देशको पूर्वाधार विकासका आधारस्तम्भका रुपमा मानिने इन्जिनियरहरुले एकातर्फ लाखौँ खर्चेर अध्ययन गरेपश्चात् रोजगारीको अवसर पाउँदैनन् भने अर्कोतर्फ विदेशी विश्वविद्यालयले विभिन्न प्रलोभनमा दक्ष विद्यार्थी सहजै लगेर लाखौँ डलर कमाइरहेका छन् । पछिल्लो समय नेपालमा इन्जिनियरिङ शिक्षा खस्कँदै गएको तथा उत्पादित प्राविधिकद्वारा निर्माण गरिएका भौतिक पूर्वाधारका कार्यहरुको गुणस्तरहीन बन्दै गएको स्वयम् विज्ञहरुनै बताउँछन् । इन्जिनियरिङ क्षेत्रमा लामो अनुभव संगालेका डा दीपक भट्टराईले इन्जिनियरिङ शिक्षा खस्कँदै गएको र जनशक्ति विदेश पलायन हुने क्रम बढ्नुले मुलुकको विकासमा चुनौती थपिएको बताए ।

नेपालमा सन् १९९३ मा ९६ विद्यार्थीबाट सुरु भएको इन्जिनियरिङ शिक्षामा हाल छ हजारभन्दा बढी विद्यार्थी छन् । नेपाल इन्जिनियरिङ परिषद्का अनुसार देशका नौ वटा विश्वविद्यालय अन्तर्गत ५१ वटा इन्जिनियरिङ कलेज सञ्चालनमा रहेका छन् भने २६ हजारभन्दा बढी इन्जिनियरले परिषद्मा नाम दर्ता गराएका छन् । परिषद्का रजिष्टार इन्जिनियर उमेशप्रसाद थानी इन्जिनियरिङ शिक्षाको गुणस्तर खस्कँदै गएको स्वीकार्दै यसको नीतिगत सुधारको खाँचो औंल्याउछन् ।

student

नेपालमा इन्जिनियरिङ शिक्षाको लामो इतिहास छैन,सन् १९३० मा ट्रेनिङ कोर्षको रुपमा यो शिक्षा सुरु भई १९५० को दशकमा शैक्षिक हैसियत पायो । सन् १९७८ मा सिभिल इन्जिनियरिङमा ब्याचलर कार्यक्रम सुरु भयो । सन् १९९४ मा इन्जिनियरिङ अध्ययन सुरु गर्ने नेपालको एकमात्र त्रिभुवन विश्वविद्यालय थियो । सोही समयमा काठमाडौँ विश्वविद्यालयले पनि सुरु गरेको थियो । नेपालमा इन्जिनियरिङ अध्ययनका लागि चार लाख देखि १० लाखसम्म आवश्यक पर्छ ।

भौतिकपूर्वाधार पर्याप्त नहुनु,उद्योग सान्दर्भिक शिक्षा नहुँदा उत्पादित जनशक्तिले सामान्य सफ्टवेयर पनि परीक्षण गर्न नसक्ने अवस्था र राजनीतिक हस्तक्षेपलगायतका कारण इन्जिनियरिङ शिक्षाको गुणस्तर खस्केको डा दीपक भट्टराई बताउँछन् । सडक बनाएको तीन दिनमा भत्कन्छ,विद्यार्थीहरु कलेज जान रुचाउँदैनन्,कलेजको वातावरण छैन,विद्यार्थीमा नैतिकता हराउँदै गएको छ,अनुभवी शिक्षक छैनन्, पूर्वाधार, लाइब्रेरी स्तरीय छैनन् पाठ्यक्रम समयानुकल अपडेट छैन अनि नियमित अनुगमन पनि छैन, यसले गर्दा इन्जिनियरिङ् शिक्षाको गुणस्तर खस्कँदै गएकोछ, उनले भने ।

तुलनात्मक रुपमा एसियाको राम्रो इन्जिनियरिङ पढाइ हुने भारतलाई मानिन्छ,त्यहाँ हाल चार हजारभन्दा बढी इन्जिनियरिङ कलेजहरु सञ्चालनमा रहेका छन् । विकसित मुलुक बेलायतमा यो शिक्षा बढी फष्टाएको पाइन्छ । यकिन विवरण नभए पनि अहिले भारतमा मात्र करिब नौ हजार नेपाली विद्यार्थी इन्जिनियरिङ शिक्षा अध्ययनका लागि गएका छन् ।

एसोसिएसन अफ इन्जिनियरिङ कलेज नेपालका अध्यक्ष इन्जिनियर रामेश्वर रिजालले इन्जिनियरिङ शिक्षाको पाठ्यक्रम समयानुकूल परिमार्जन र अपडेट नहुनु,भौतिक पूर्वाधार र आवश्यक उपकरण पर्याप्त नहुनुजस्ता कारण शैक्षिक गुणस्तर खस्कँदै गएको बताए ।

उनले भनेः अनुभवी शिक्षकको अभाव छ,धेरै शीक्षक फ्रेस ग्राजुएट छन्,त्यसमा पनि अहिले हेलमेट टिचरको प्रभाव बढ्दै गएको छ । इन्जिनियरिङमा हरेक वर्ष पास दर घट्दो छ,यसले इन्जिनियरिङ शिक्षालाई चुनौति थपेको छ ।

इन्जिनियर रिजालका अनुभवमा विद्यार्थी कसरी अङ्क बढी ल्याउने भनेर चासो राख्छन्,तर नयाँ व्यवहारिक ज्ञानतर्फ ध्यान दिँदैनन्,त्यस्तै विश्वविद्यालयबीच आपसी समन्वय नहुनु,अधिकांश ग्राजुएटहरु विदेश पलायन हुने,विदेशी विश्वविद्यालयले तारे होटलमा सेमिनार गरी राम्रा विद्यार्थी छानेर लैजाने प्रवृत्तिले नेपालमा इन्जिनियरिङ शिक्षा कमजोर बन्दै गएको छ ।

इन्जिनियरिङ शिक्षाको गुणस्तरसँगै नेपालको विकासको गुणस्तर जोडिन्छ,यसलाई कसरी गुणस्तरीय र व्यवहारिक बनाउने भन्ने उद्देश्यले सोमबार एक गोष्ठीको आयोजना गरियो । नेपाल इन्जिनियरिङ परिषद्ले आयोजना गरेको गोष्ठीमा इन्जिनियरिङ अध्ययन गराउने विभिन्न विश्वविद्यालयका डिनहरु,सञ्चालित इन्जिनियरिङ कलेजका अध्यक्ष तथा प्रिन्सिपलहरु र इन्जिनियरहरुको सहभागिता थियो ।
गोष्ठीको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले भौतिक पूर्वाधार विकासका लागि इन्जिनियरहरुको महत्वपूर्ण भूमिका हुने बताए । नेपालको विकासलाई उच्च गतिमा पु¥याउउन दक्ष प्राविधिक जनशक्ति निर्माण गर्न जरुरी रहेको भन्दै उनले नेपालको प्राकृतिक सम्पदा र भौतिक विविधतालाई मध्यनजर गरी कस्तो किसिमको पूर्वाधार विकास गर्न सकिन्छ,त्यसअनुरुपको इन्जिनियरिङ शिक्षा पद्धतिको विकास गर्न जरुरी भएको उल्लेख गरे ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भोलानाथ पोखरेलले नेपालमा प्राविधिक शिक्षाको माग बढेपनि इन्जिनियरिङका विद्यार्थी घट्दै गएको भन्दै व्यावसायिक काउन्सिल र विश्वविद्यालयबीच समन्वय गरी इन्जिनियरिङ शिक्षामा लगानी बढाएर गुणस्तरीय जनशक्ति उत्पादन गर्न जरुरी भएको खाँचो औँल्याए ।

-सिवी अधिकारी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us