ट्राफिक प्रहरीद्वारा पन्ध्र सय सवारी धनीमाथि कारबाही

काठमाण्डु टुडे २०७१ फागुन ११ गते ९:२० मा प्रकाशित

traffice police nepal
उदयपुर,११ फागुन– यस जिल्लामा तीन महिनाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ५ सय ठूला तथा साना सवारीका धनी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

मङ्सिर महिनाको सुरुदेखि माघमसान्तसम्म एक हजार ५ सय जति ठूला तथा साना सवारीका धनी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर गाईघाटले बताएको छ ।

तीन महिनाभित्र सवारी नियम उल्लङ्घन गर्नेहरुबाट झन्डै पाँच लाखबराबर राजस्वसमेत सङ्कलन भएको छ ।

मङ्सिर महिनामा सवारी नियम उल्लङ्घन गर्ने २८ वटा ट्रक, नौवटा बस र ३८ वटा जिप र कारका धनी कारबाहीमा परेका छन् ।

यस्तै, ५७ वटा ट्र्याक्टर,आठवटा ट्याम्पु र ३ सय ४५ वटा मोटरसाइकलका धनी पनि कारबाहीमा परेको कुरा जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख कृष्ण तिम्सिनाले बताएका छन् ।

त्यस्तै पुस महिनामा सवारी नियम उल्लङ्घन गर्ने ५४ वटा ट्रक,२२ वटा बस,४३ वटा कार र जिप, ७६ ट्र्याक्टर र ३५२ वटा मोटरसाइकलका धनीमाथि कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय गाईघाटले बताएको छ । पुस महिनामा छवटा दुर्घटना भएका थिए ।

माघ महिनामा सवारी नियम उल्लङ्घन गर्ने ६८ वटा ट्रक,२३ वटा बस,४३ कार र जिप,६० ट्र्याक्टर, चार ट्याम्पु र २४५ मोटरसाइकलका धनीलाई कारबाही गरिएको छ । यो महिनामा जिल्ला १२ वटा सवारीका दुर्घटना भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us