चितवनका होटल अनिश्चितकालका लागि बन्द

काठमाण्डु टुडे २०७१ फागुन ११ गते ८:१८ मा प्रकाशित

chitwan
चितवन,११ फागुन– सुरक्षित रुपमा होटल व्यवसाय गर्न नपाएको भन्दै होटल व्यवसायी सङ्घ चितवनले सोमबारदेखि अनिश्चितकालका लागि होटल बन्द गराएको छ ।

सङ्घले सोमबारदेखि मुग्लिनबाट भरतपुर क्षेत्रसम्म रहेका होटल,रेस्टुराँ तथा गेष्टहाउस अनिश्चितकालसम्मका लागि बन्द गरेको हो । सङ्घका अध्यक्ष डासीराम ढकालले जिल्लाका होटल व्यवसायलाई धरासायी बनाउने योजना नै बनाई बेलुका ९ बजेदेखि नै होटल बन्द गराउने र छापामार शैलीमा गेष्टहाउसमा बसेका पाहुना तथा व्यवसायीलाई हिरासतमा लिने कार्यको विरुद्धमा आन्दोलनमा उत्रनुपरेको बताए ।

उनले भनेः जबसम्म सुरक्षित वातावरण बन्दैन तबसम्म हामी व्यवसाय गर्न सक्दैनौँ ।
उनले जिल्लाभित्र सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरणको प्रत्याभूति प्रशासनले नदिएसम्म होटल व्यवसाय बन्द गर्ने बताए । नारायणगढमा पत्रकार सम्मेलन गरी सङ्घले होटल तथा रेस्टुराँ बन्द आह्वान गरेको हो ।

सङ्घका निवर्तमान अध्यक्ष इमान्दु बरालले प्रहरीले होटलमा भएको इन्ट्री बुकलाई पनि बेवास्ता गरी जबर्जस्ती ग्राहकलाई लिएर गई हिरासतमा राख्ने कार्य गर्दै आएकामा आपत्ति जनाए ।

प्रहरीले शनिबार भरतपुर र नारायणगढका होटलमा छापा मारेर ४९ जनालार्ई पक्राउ गरेको थियो । यसको विरोधस्वरुप व्यवसायीले आफ्नो व्यवसाय बन्द गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us