यौन दुव्र्यवहार गरेको आरोपमा राष्ट्र सङ्घको मौसमसम्बन्धी संस्थाका प्रमुख बैठकमा बस्न नपाउने

काठमाण्डु टुडे २०७१ फागुन ११ गते ५:२८ मा प्रकाशित

Rajendra K. Pachauriभारत, ११ फागुन– संयुक्त राष्ट्र सङ्घको मौसम परिवर्तनसम्बन्धी निकायका प्रमुख अधिकारी राजेन्द्र पचौरीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि र यस विषयमा प्रहरीले अनुसन्धान आरम्भ गरेपछि आउँदो साता केन्यामा आयोजना हुने बैठकमा उनी अनुपस्थित हुने जानकारी अधिकारीहरूले आइतबार दिएका छन् ।

नोबेल पुरस्कार विजेता मौसम परिवर्तनसम्बन्धमा अन्तरसरकारी समूह आइपिसिसी का अध्यक्ष पचौरीको ध्यान अन्यत्र आवश्यक भएकाले उनी बैठकमा अनुपस्थित हुने संयुक्त राष्ट्र सङ्घको उक्त समूहले जानकारी दिएको छ ।

पचौरीको दिल्लीस्थित अनुसन्धान संस्था दि इनर्जी एन्ड रिसोर्स इन्स्टिच्युट टेरीका २९ वर्षीया एक महिला अनुसन्धानकर्ताले आफूमाथि ७४ वर्षीय पचौरीले यौन दुव्र्यवहार गरेको आरोप लगाएको दिल्ली प्रहरीले जानकारी दिएपछि उनको अनुपस्थितिको निर्णय भएको बताइएको छ ।

दिल्लीका प्रहरी प्रवक्ता राजन भगतले एक महिलाले एक साताअगाडि पचौरीविरुद्ध यौनजन्य दुव्र्यवहारका विषयमा प्रथम सूचना प्रतिवेदन दर्ता गरेको र यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

यी महिला कर्मचारीले पचौरीले इमेल, टेक्स्ट तथा ह्वाट्सएप सन्देशसहित निरन्तर रूपमा अनुचित व्यवहार गरेको आरोप लगाएको प्रहरीले जानकारी दिएको छ ।

पचारीले यी सबै आरोप अस्वीकार गर्दे आफ्नो इमेल तथा मोबाइल फोन ह्याक भएको दाबी गरेका छन् ।

दिल्ली उच्च अदालतले सोमबारसम्मका लागि पचौरीलाई पक्राउबाट अन्तरिम सुरक्षा प्रदान गरेपछि उनले सम्भावित पक्राउ पर्न नदिन जमानतका लागि तल्लो अदालतमा निवेदन दिने अनुमान गरिएको अर्का एक प्रहरी अधिकारीले बताए ।

ती प्रहरी अधिकारी आमसञ्चारसँग बोल्ने अधिकृत नभएकाले उनले आफ्नो परिचय नदिने सर्तमा पचौरी यस्तो जमानत प्राप्त गर्न दिल्लीमा हुनु आवश्यक भएको बताए ।

पचौरीको कार्यालयले यस विषयमा प्रतिक्रिया दिएको छैन ।

पचौरीले आईपीसीसीलाई भारतमा आफ्नो ध्यान आवश्यक भएकाले आउँदो साता नाइरोबीमा यस संस्थाको पूर्णबैठकलाई आफूले अध्यक्षता गर्न नसक्ने जानकार दिएको यस संस्थाले शनिबार एक विज्ञप्ति प्रकाशन गरी उल्लेख गरेको छ ।

पचौरीले डिसेम्बर महिनामा पेरिसमा मौसम परिवर्तनसम्बन्धी बैठकको आयोजना गर्ने तयारी गरिरहेको अवस्थामा यो समय उनका लागि निकै महत्वपूर्ण समय भएको छ । उक्त बैठकमा पृथ्वीको तापक्रम बढ्न नदिन विश्वका नेताहरूले एक विश्वव्यापी सम्झौता गर्ने अनुमान गरिएको छ ।

मौसम परिवर्तनसम्बन्धी भारतका यी वरिष्ठ विशेषज्ञ सन् २००२ मा आईपीसीसीमा प्रवेश गरेका हुन र उन सन् २००८ मा दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन् ।

पचौरीले यसअघि पृथ्वीको तामक्रम बढेको विषयमा गलत तथ्याङ्क प्राप्त भएको भनी चर्चा पाएका थिए भने उनले यौन, पुनजन्म तथा हलिउडका एक अभिनेत्रीको जीवनका विषयमा एक उपन्यास लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us