विपक्षीहरु वार्तामा नआए प्रक्रिया अघि बढ्छः साउद

काठमाण्डु टुडे २०७१ फागुन १० गते १३:१४ मा प्रकाशित

narayan saud
रुपन्देही,१० फागुन– सिँचाइ मन्त्री नारायणप्रकाश साउदले फागुन १६ सम्म पनि विपक्षीहरु वार्ता र संवादमा नआए प्रक्रियामा गएर संविधान निर्माण गरिने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल पश्चिमाञ्चल क्षेत्रीय समितिले आइतबार भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आयोजना गरेको साक्षात्कारमा मन्त्री साउदले आम नागरिकको चाहना शान्ति र संविधान भएकाले संविधान निर्माण गर्नुको कुनै विकल्प नभएको उल्लेख गर्दै विपक्षी मोर्चालाई सडक आन्दोलन छाडेर सदनमा आउन आग्रह गरे ।

प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई निवासमै पुगेर वार्तामा आउन आग्रह गर्दा पनि वार्तामा आउन नखोज्नुले उनीहरु संविधान निर्माणबाट भाग्न खोजेको पुष्टि भएको उनको भनाइ थियो ।

विपक्षीले गरेको आन्दोलनलाई जनताले साथ नदिने उल्लेख गर्दै मन्त्री साउदले एमाओवादीसहितका दललाई लोकतान्त्रिक हुनसमेत आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us