काठमाण्डुमा सडक विस्तारमा ढिलाइ भएकामा चिन्तित हुनुहुन्छ ? धन्दा नमान्ननुस् जम्मा चार वर्ष धैर्य गरे पुग्छ

काठमाण्डु टुडे २०७१ फागुन १० गते ४:५४ मा प्रकाशित

sadak bistarकाठमाण्डु, १० फागुन– राजधानीको ट्राफिक व्यवस्थापनका लागि सुरु तीन वर्षअघि सुरु गरिएको सडक विस्तारको काम ५० प्रतिशत मात्र पूरा भएको छ ।

सडक विस्तारको मुख्य जिम्मा पाएको उपत्यका विकास प्राधिकरणले विविध कारणले काम तीव्र हुन नसकेकोको स्वीकार गरेको छ ।

उपत्यका विकास प्राधिकरणका अनुसार हालसम्म दुई सय किलोमिटर सडक विस्तार गरिएको छ । जसमध्ये काठमाण्डुमा १६७ किमि, ललितपुरमा ३० किमि र भक्तपुरमा तीन किमि सडक विस्तार गरिएको छ । विस्तार गरिएको सडकमध्ये १२० किमि कालोपत्रे गरिसकिएको छ ।

सडक विस्तारको काम सबै पक्ष तथा निकायसँग जोडिएकाले पनि त्यति सरल नहुने प्राधिकरणका नायव विकास आयुक्त भाइकाजी तिवारीको भनाइ छ ।
प्राधिकरणका अनुसार, सूचना गरिसकेपछि घरधनीले घर भत्काउन ढिलाइ गरिदिन्छन् ।

सडक विस्तारको सुरुका दिनमा स्थानीयहरु अवरोधमै उत्रिएका थिए । विरोध पनि गरे । तर अहिले भने अदालत जाने र अदालतको आदेश लिएर घर भत्काउन ढिलाइ गरिदिनेको संख्या बढेको बताइन्छ ।

‘तत्काल घर नभत्काउन अदालतको आदेश लिएर बस्ने तथा मुद्दा तन्काएर विस्तारको काममा ढिलाइ गरिदिने प्रवृत्ति बढ्दै गएको छ । त्यसले पनि काम तीव्र हुन नसकेको तिवारी बताउँछन् । उपत्यकाको सडक पाँच सय किमि विस्तार गरिने लक्ष्य छ ।

दुई सय किलोमिटर विस्तार गरिसकिएकोले अझै तीन सय किलोमिटर विस्तार गर्न बाँकी छ । जसमा ५० किमि सडक विस्तार गर्न रेखांकन गरिसकिएको र ५० किमि सडकमा चिन्ह लगाउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

तीन वर्षमा दुई सय किलोमिटर सडक विस्तार गरिएको छ भने पाँच सय किलोमिटर सम्पन्न गर्न कम्तिमा अझै साढे तीन वर्ष लाग्ने अनुमान गरिएको छ ।
गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us