सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाण्डु टुडे २०७१ फागुन ८ गते ११:०७ मा प्रकाशित

kailali_district
कैलाली,८ फागुन– छिमेकी मुलुक भारतको मध्य प्रदेश,राजस्थान र नयाँ दिल्लीमा स्वाइनफ्लु देखा परेपछि कैलालीका सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सुदूरपश्चिमबाट अहिले रोजगारीका लागि भारत नजान र व्यापारीलाई पनि मालसामान झिकाउन भारत नजान यहाँका अधिकारीहरुले आह्वान गरेका छन् ।

स्वाइनफ्लुजस्तो रोगको सङ्क्रमण नेपालमा भित्रिन नदिन उच्च सतर्कता अपनाउनुपर्ने जिल्ला पशु सेवा कार्यालय कैलालीका प्रमुख डा विनय कर्णले बताए ।

उनका अनुसार नेपालबाट भारतमा सञ्चालित बङ्गुरका फार्महरु हेर्न जाने किसानले सावधानी अपनाउनुपर्ने देखिएको छ ।

भारतबाट मासुजन्य पदार्थ नल्याउन उनले सुझाए । उनले बङ्गुरलाई कडाखालको ज्वरो आएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न बङ्गुरपालक किसानलाई आग्रह गरे ।

रुघाखोकी लाग्ने,ज्वरो आउने,टाउको दुख्ने,रिङ्गटा लाग्ने,जीउ दुख्ने स्वाइनफ्लुका लक्षण हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख राजेन्द्र क्षेत्रीले स्वाइनफ्लु भित्रिन नदिन उच्च सतर्कता अपनाइने बताए । उनले भने,“तत्काल आत्तिनुपर्ने अवस्था छैन तर सावधानी अपनाउन जरुरी छ ।”

भारतको मध्यप्रदेश र राजस्थानमा ६६८ जना र नयाँ दिल्लीमा ५१ जनाको स्वाइनफ्लुका कारण मृत्यु भइसकेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us