अनुगमनपछि शिक्षकको राजीनामा दिनेक्रम तीब्र

काठमाण्डु टुडे २०७१ फागुन ८ गते ८:०६ मा प्रकाशित

TheKingdomOfNepal.com: Dolakha District Map
चरीकोट,८ फागुन– जिल्ला शिक्षा कार्यालय दोलखाले विद्यालय निरीक्षणलाई तीव्र पारेपछि ५६ शिक्षकले राजीनामा दिएका छन् ।  शिक्षा कार्यालयले आफ्नो पेसाप्रति शिक्षकलाई बफादार बनाई विद्यार्थीको भविष्य उज्ज्वल बनाउनका निमित्त अनुगमनलाई कडाइ गर्न थालेपछि राजीनामा दिने शिक्षकको संख्या बढेको हो ।
विद्यालयमा शिक्षक नियमित रुपमा नआउने,पढाइमा गुणस्तरमा कमी आएको लगायत गुनासा अभिभावकले गरेपछि कार्यालयले अनुगमनलाई तीव्र पारेको थियो । अनुगमनसँगै राजीनामा दिन आउनेहरुको पनि क्रम बढेको विद्यालय निरीक्षक शेषकान्त पौड्यालले जानकारी दिए ।

“राजीनामा दिनेमा सबैभन्दा बढी प्राथमिक तहका शिक्षक छन्,जसमा प्राथमिक विद्यालयमा अध्यापनरत ५० तथा निम्न माध्यमिक र माध्यमिक तहका तीन तीन  शिक्षक  छन् ” कार्यालयले भनेको छ । उनीहरुमध्ये अधिकांश शिक्षक निवृत्तिभरण पाकेको तर जागिरको अवधि रहँदारहँदैका छन् । राजीनामा दिनेमा अधिकांश शिक्षक विद्यालयमा नियमित नभएका, राजनीतिक दलमा सक्रिय भएका,विभिन्न नाफामूलक काममा लागेको पाइएको बताइएको छ ।

शिक्षा मन्त्रालयको परिपत्रअनुसार शिक्षकले राजनीतिमा सक्रिय हुन नपाउने,विभिन्न सामाजिक एवम् नाफामूलक सङ्घसंस्थामा बिनाअनुमति बस्न नपाउनेलगायत बुँदा राखेपनि कार्यालयले अनुगमनलाई तीव्र पार्न नसक्दा शिक्षकले परिपत्रको उल्लङ्घन गरिरहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us