प्रक्रिया कुनै हालतमा खारेज हुँदैन : सिंह

काठमाण्डु टुडे २०७१ फागुन ६ गते ७:५३ मा प्रकाशित

Prakash-Man-Singhसोलुखुम्बु, ६ फागुन– उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभामा सुरु भएको प्रक्रिया कुनै पनि हालतमा खारेज नहुने बताएका छन् ।

सल्लेरी च्याल्सा विद्युत् कम्पनीको उद्घाटन गर्न बधबार सोलुखुम्बु आएका उपप्रधानमन्त्री सिंहले पत्रकारसँगको कुराकानीमा आन्दोलनरत पक्षसँग सहमति खोज्नकै लागि अहिले संविधानसभाको बैठक स्थगित भएको भन्दै सहमति नभए प्रक्रियाबाट संविधान जारी गर्ने बताए ।

सुरु प्रक्रिया खारेज गर्नु भनेको संविधानसभाको अन्त्यजस्तै भएको भन्दै उनले सहमतिका लागि वार्ता भइरहेको र वार्ता सकारात्मक रहेको बताए ।

आन्दोलनरत विपक्षी दलहरूकै कारण अहिले संविधानसभा समस्यामा परेको दाबी गर्दै उपप्रधानमन्त्री सिंहले संविधानसभामा आउनुको विकल्प नभएको भन्दै विपक्षीहरू वार्ता र संविधानसभामा आउन जति ढिला हुन्छ उत्ति नै उनीहरूलाई घाटा हुने धारणा प्रस्तुत गरे ।

उनले स्थानीय निकायको चुनाव अपरिहार्य भए पनि विपक्षीहरू सहमतिमा नआएका कारण हुन नसकेको उल्लेख गर्दै संविधान जारी भएर अर्को स्थानीय निकायको स्वरुप बनाउने समयसम्मका लागि अन्तरिम भए पनि स्थानीय निकाय चाहिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us