सुल्झियो माथिल्लो तामाकोसीको सेयर विवाद

काठमाण्डु टुडे २०७१ फागुन ४ गते ११:१९ मा प्रकाशित

tamakosi
चरिकोट,४ फागुन- माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको स्थानीयले पाउनुपर्ने १० प्रतिशत सेयर सम्बन्धि विवाद सोमबारबाट सुल्झिएको छ ।

दोलखालीले पाउने ७० कित्ताका दरले समान रुपमा आवेदन गर्ने व्यवस्था गर्न जिल्लाको हकमा चैत १ गतेदेखि सेयर सङ्कलन सुरु गर्ने सहमती भएको छ । सहमती अनुसार प्रत्येक गाविस र नगरपालिकाका वडाका साथै काठमाडौँमा समेत सेयर सङ्कलनको व्यवस्था गर्ने,प्रभावित क्षेत्र लामाबगर र गौरीशङ्करवासीलाई समान ३ सय कित्ता सेयर आवेदन माग गर्ने जनाइएको छ ।

यस्तै विदेशमा रहेका दोलखाली नागरिकका लागि सहज प्रबन्ध मिलाउने व्यवस्था गर्ने,आयोजनाको लगानी बढ्न गएमा बढेको रकम सरकारी निकाय र दोलखावासीले नै लगानी गर्ने जस्ता बुँदामा निर्णय गर्दै सेयर विवाद सुल्झिएको छ ।
जिल्लाका राजनीतिक दल रहेको सेयर बाँडफाँडसम्बन्धी जिल्ला समन्वय समिति दोलखाको बैठकले आयोजनाले आह्वान पत्र प्रकाशित गर्दा समन्वय समितिलाई कुनै जानकारी नगराई आह्वान गरेको भन्दै रद्द गर्न माग गरेपछि आयोजनाका प्रमुख,नागरिक लगानी कोषका प्रमुख र धितोपत्र बोर्डको प्रमुख सहितको उपस्थितिमा बैठक बसी सेयर विवाद सुल्झिएको हो ।

४५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले २०७३ साल मङ्सिर मसान्तबाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us