नागरिकताभन्दा राहदानी लिनेहरुको संख्या दोब्बर

काठमाण्डु टुडे २०७१ फागुन ४ गते ८:४० मा प्रकाशित

pasport

मुस्ताङ,४ फागुन- मुस्ताङमा नेपाली नागरिकता प्रमाणपत्रभन्दा दोब्बर राहदानी वितरण हुने गरेको छ । पछिल्लो ६ महिनाको अवधिमा नागरिकताभन्दा राहदानी बढी वितरण भएको हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार,साउनदेखि माघ मसान्तसम्म ४७९ वटा राहदानी र २६० वटा नागरिकताको प्रमाणपत्र जारी भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखालले विदेश जाने परम्पराका कारण राहदानी बढी वितरण भएको जानकारी दिए ।

उनका अनुसार,साउनमा ६६,भदौमा ८५, असोजमा ७५,कात्तिकमा ८०,मङ्सिरमा ८५,पुसमा ४७ र माघमा ४१ वटा राहदानी जारी भएको छ ।

त्यस्तै,साउनमा ४६,भदौमा ४८,असोजमा २५,कात्तिकमा ५०,मङ्सिरमा ५५,पुसमा १७ र माघमा १९ वटा नागरिकता वितरण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । करिब १२ हजार जनसङ्ख्या रहेको जिल्लामा नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि निकाल्ने बढी देखिएको छ ।

त्यस्तै राहदानी विभाग काठमाडौँबाट नै राहदानी लिनेको सङ्ख्या धेरै रहेको पाइएको छ । “आधाभन्दा बढी नागरिकताको प्रतिलिपि जारी भएको छ,यसले नयाँ निकाल्ने एकदमै कम रहेछ भन्ने कुरा पुष्टि हुन्छ, सहायक प्रजिअ चोखालले भने, “जिल्लामा ढिला आउने भएकाले केन्द्रबाटै राहदानी लिने बढेको छ ।”
राहदानी विभागबाट जिल्लामा राहदानी आउन एक महिनाभन्दा बढी लाग्ने गर्दछ । मङ्सिर,पुस र माघ महिनामा चिसोका कारण कम राहदानी वितरण भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us