महराले रोक्न खोजेका थिए ल्यारक्यालको सपथ

काठमाण्डु टुडे २०७१ फागुन ४ गते २:३० मा प्रकाशित

lharkyal lama (2)काठमाण्डु, ४ फागुन– एमाओवादीको आन्तरिक विवादबीच सभासद् ल्यारकेल लामाले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो कार्यकक्षमा लामालाई मध्यान्ह सपथ गराएका हुन् ।

विवादास्पद छविका लामाको मनोनयनबारे आन्तरिक विवाद चर्किएपछि एमाओवादी महासचिव कृष्णबहादुर महरासहितका नेताहरुले उनको सपथ ग्रहण रोक्ने प्रयास गरेका थिए ।

दलको सिफारिसमा सभासद् चयन भएर निर्वाचन आयोगको आधिकारिक प्रमाणपत्रसहित सम्बन्धित व्यक्ति सपथ ग्रहणका लागि आएपछि अन्यथा गर्ने नमिल्ने अभ्यासका कारण लामालाई सपथ गराइएको सचिवालयका एक वरिष्ठ अधिकारीले बताए ।

स्रोतका अनुसार संविधानसभा सचिवालयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले लामालाई तत्काल सपथ गराउन ताकेता गरेका थिए ।

उनको तर्फबाट एमाओवादी केन्द्रीय सदस्यसमेत रहेका निजी सचिव चुडामणि खड्का र शिव खकुरेलले संविधानसभा सचिवालयमा सम्पर्क गरी लामालाई सकेसम्म छिटो सपथग्रहण गराउन आग्रह गरेका थिए ।

संविधानसभा सचिवालयले आइतबार मध्यान्हका लागि दिएको समय परिवर्तन नगर्न सभासद् लामा स्वयम्ले पनि निरन्तर ताकेता गरेका थिए ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us